इलाम– डा गोविन्द केसीको स्वास्थ्यमा अनसनको दोस्रो दिनको बेलुकीबाट स्वास्थ्यमा समस्या आउन थालेको छ। उनको रक्तचाप घट्नुको साथै शरीरमा चिसो पसिना आउने, हात थर्थराउने समस्या देखिएको डा रामकृष्ण आचार्यले बताएका छन्।
शुक्रबारदेखि उनको छाती दुख्न थालेको छ भने रक्तचाप न्यून हुँदै गएको उनले जानकारी दिए। यसैगरी खोकी निरन्तर लागिरहेकाले त्यसले निमोनिया तथा अन्य संक्रमणको जोखिम बढ्ने देखिएको भन्दै चिकित्सकले सावधानी अपनाउन थालेका छन्।
उनलाई भेट्न आउने शुभचिन्तकहरुलाई परैबाट भेट्न आग्रह गर्दै सत्याग्रह परिसरको मध्य भागमा डोरी राखेर अलग्गै राखिएको छ। शरीरमा पानीको मात्रा र इलेक्ट्रोलाइट्सको कमीका कारण इलाम अस्पतालको स्वास्थ्य टोलीले नसामा क्यानुला राख्न नसकेको बताइएको छ। मुटुको चाल ठिकै रहे पनि कुनै समय असामान्य हुन सक्ने भएकाले निरन्तर मोनिटरिङ गरिएको डा आचार्य बताउँछन्।
स्वास्थ्यकर्मीले रगत परीक्षणका लागि आग्रह गर्दा भने उनले इन्कार गरेका छन्। तर फेरि आज परीक्षणका लागि आग्रह गरिने डा आचार्य बताउँछन्। उनले भने, 'इलामको चिसो मौसमका कारण स्वास्थ्यमा अरु जटिलता पनि आउन सक्ने भएकाले हामी चिन्तित छौँ।'
स्थानीय स्वास्थ्यकर्मीको टोलीले उनको स्वास्थ्यमा निरन्तर निगरानी गरिरहेको छ। उनको उपचारमा डा आचार्यका साथै डा बृजेन्द्र, डा सर्विन्द्र, डा सञ्जय लगायत स्थानीय रूपमा उपलब्ध चिकित्सक, नर्स, हेल्थ असिस्टेन्टहरुको टोली छ।
केसी बुधबारदेखि अनसनमा छन्।
सरकारसँग भएको सहमति अनुसार चिकित्सा शिक्षा विधेयक संसदबाट पारित हुनुपर्ने उनको माग थियो। संसदको शिक्षा तथा स्वास्थ्य समितिले बुधबार विधेयक बहुमतले पास गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।