च्याम्पियन मनाङका पाँच स्टार खेलाडी 

सीताराम कोइराला | २०७५ पौष २६ बिहीबार | Thursday, January 10, 2019 ०१:०५:०० मा प्रकाशित

काठमाडौं– मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक 'ए' डिभिजन लिगको आठौं उपाधि रेकर्डसहित जित्न चाहन्थ्यो। मंगलबार भएको अन्तिम खेलमा फ्रेण्ड्स क्लबसँग १–० गोलले पराजित भएपछि सबै खेल जितेर च्याम्पियन बन्ने मनाङको अभियान सफल हुन सकेन। 

यद्यपी मनाङले लिगका १२ खेलमा लगातार जित हात पारेको थियो। सर्वाधिक लिग च्याम्पियन मनाङले ११औं चरणको खेलमा दोस्रो स्थानको संकटा क्लबमाथि जित हात पारेसँगै २ खेल अघि नै लिग जितेको थियो।

लगातार १२ खेलमा जित हात पार्दा मनाङका हरेक खेलाडीको योगदान उतिकै थियो। केहि खेलाडीले भने लिग अवधिभर उत्कृष्ट प्रदर्शन गरे। मिडफिल्डरद्वय सुजल श्रेष्ठ र प्रकास बुढाथोकी घाइते हुँदा मनाङ सुरुमै संकटमा परेको थियो। डिफेन्डर कमल श्रेष्ठले पनि घाइते भएका कारणले सुरुवाती खेल गुमाएका थिए। सुजलले पनि लिगको आधा भन्दा बढी खेल गुमाए। प्रकास बुढाथोकी अन्तिमसम्म पनि फिट हुन सकेनन्।

उपलब्ध खेलाडीले शतप्रतिशत खेल्दा मनाङ च्याम्पियन बन्न सकेको प्रशिक्षक सुमन श्रेष्ठ बताउछन्। सबै खेलाडीको उतिकै योगदान भए पनि नेपाल लाइभको नजरमा मनाङलाई च्याम्पियन बनाउन उत्कृष्ट खेल्ने पाँच खेलाडी यस्ता छन् : 

विशाल श्रेष्ठ (गोलकिपर)
विशालले १३ खेलमा नै मनाङको पोस्ट सम्हाले। १३ खेल मध्ये उनले ६ खेल क्लिनसिट राखे। उनले नेपाल पुलिस, त्रिभुवन आर्मी, मच्छिन्द्र,  जावलाखेल, सरस्वती र एनआरटीविरुद्धको खेल क्लिनसिट राखेका थिए।

लिग अवधिभार ७ गोल मात्र खाने विशाल एक्ला खेलाडी हुन्। त्रिभुवन आर्मीका गोलकिपरले विशाल भन्दा १ गोल बढी ८ गोल बेहोरेका थिए। ब्रिगेड ब्वाइजविरुद्धको पहिलो खेलमा नै गोल खाएका विशालले त्यसपछिका खेलमा उत्कृष्ट खेले।

विशालले ७ मध्ये २ गोल गोल पेनाल्टीमा खाएका थिए। उनले कुनै पनि खेलमा २ गोल खाएनन्। फलस्वरुप उनले सर्वोत्कृष्ट गोलकिपरको अवार्ड समेत जित्न सफल भए। 
मोमहद असिफ (डिफेन्डर)
भारतीय डिफेन्डर मोहमद अफिसले मनाङका लागि ११ खेल पूरा समय खेले। ब्रिगेड ब्वाइजविरुद्धको पहिलो खेलमा श्रम स्विकृती नभएका कारण उनले खेल्न पाएका थिएनन्।

त्यसपछि उनले लगातार ११ खेलमा मनाङको फुल ब्याक सम्हाले। फिट र छरितो देखिने अफिसले विपक्षी खेलाडीलाई रोक्न खम्बाकै काम गरे। 

उनले हिमालयन शेर्पाविरुद्धको १२औं खेलमा भने रातो कार्ड पाएका थिए। जसकारणले उनी फ्रेण्ड्सविरुद्धको अन्तिम खेलमा अनुपस्थित रहे। 

हेमन गुरुङ (मिडफिल्डर) 
मनाङलाई आठौं पटक उपाधि जिताउन फिडफिल्डर हेमन गुरुङको प्रदर्शन उच्च रह्यो। उनी सरस्वती विरुद्धको खेलबाहेक अन्य खेलमा पहिलो रोजाइको टिममा रहेर मैदान उत्रिए। हेमनले मनाङका लागि महत्वपूर्ण मानिएको २ खेलमा उच्च प्रदर्शन गरेका थिए। 

थ्रीस्टारविरुद्धको खेलमा हेमनले दोस्रो गोल गर्न योगदान गरेका थिए। हेमनको लामो पास रोक्ने क्रममा थ्रीस्टारका गोलकिपर एलन न्यौपानेले क्लियर गर्ने क्रममा आत्मघाती गोल भएको थियो।

सरस्वतीविरुद्धको खेलमा भने उनी दोन थापाको स्थानमा सब्सिच्युट खेलाडीको रुपमा खेलेका थिए।

मनाङले ११औं खेलमा संकटालाई हराएर लिगको उपाधि जित्दा हेमनको प्रदर्नश उत्कृष्ट थियो। उनका २ प्रहार क्रसबारमा लागेर बाहिरिएका थिए। खेलमा संकटाविरुद्धको खेलमा म्याच अफ दि म्याच भएका थिए।

मनाङका प्लेमेकर भएकै कारण हेमनले लिगको सर्वोत्कृष्ट मिडफिल्डरको अवार्ड जित्न सफल भए। 

अन्जन विष्ट (फरवार्ड)
लिगका सबै खेलमा अन्जन पहिलो रोजाइमा खेले। लिग अवधिभर उनले ५ गोल गर्न सफल भए। उनले एनआरटी, थ्रीस्टार, एपिएफ  र सरस्वती विरुद्ध गोल गर्दा लगातार ४ खेलमा गोल गर्न सफल भएका थिए।

मच्छिन्द्रविरुद्धको खेलमा भने उनी पेनाल्टीमा गोल गर्न चुके। उनको पेनाल्टी प्रहारलाई मच्छिन्द्रका गोलकिपर दिप कार्कीले बिफल पारिदिएका थिए। सुरुवाती चरणमा उत्कृष्ट देखिएको अन्जन पछिल्ला खेलमा भने गोल गर्न चुकेका थिए। 

अफिज ओलावाले (फरवार्ड)
मनाङले उपाधि जित्दा फरवार्ड अफिज ओलावालेले टिमका लागि सर्वाधिक गोल गरे। ओलावाले लिगमा ७ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा संयुक्तरुपमा शीर्ष स्थानमा रहे। त्रिभुवन आर्मीका भरत खवास र थ्रीस्टारका रन्जित धिमालले पनि ७–७ गोल गरे।

ओलावालेले ब्रिगेडविरुद्धको पहिलो खेलमै २ गोल गर्न सफल भए। त्यसपछि उनले एनआरटीविरुद्ध पनि गोल गर्दै लगातार २ खेलमा गोल गर्न सफल भए।

थ्रीस्टारविरुद्धको तेस्रो खेलमा भने उनी अनुपस्थित रहे। लगातार २ पहेँलो कार्ड पाएका कारण ओलावालेले थ्रीस्टारविरुद्धको खेल गुमाएका थिए।

उनले सरस्वती, मच्छिन्द्र र च्यासलविरुद्ध पनि गोल गरेका थिए। पुलिसविरुद्धको खेल पनि ओलावालले लगातार २ खेलमा पहेँलो कार्ड पाएका कारण गुमाएका थिए। हिमालयन शेर्पाविरुद्धको खेलमा पनि गोल गर्दा उनी सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा पुगेका थिए।