सरकारले रोक्यो ४ देशको श्रम स्वीकृति, भिजिट भिसामा पनि कडाइ

साउदी जाँदा र फर्किंदा ६० हजार रियलभन्दा बढी बोक्न अंकुश 

रमेश भारती 

Nepal Live

काठमाडौं– सरकारले अफगानिस्तान, लिबिया, इराक र सिरिया गरी ४ देश जाने नेपालीको श्रम स्वीकृति रोकेको छ। सरकारले यी देशको रोजगारीबाट फर्किएका कामदारका लागि पुन: श्रम स्वीकृति वितरणमा पनि रोक लगाएको छ।

सरकारले असुरक्षित देशमा जाने कामदारका विषयमा ती देशसँग कानुनी परामर्श लिनुपर्ने भएकाले केही समय भिसा स्थगित गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ। 

पछिल्लो समय व्यक्तिगत भिसामा अफगानिस्तान, लिबिया, इराक र सिरिया जाने कामदारको संख्या बढदै गएपछि ती देशसँग छलफल र सम्वाद गरेरमात्र श्रम स्वीकृति जारी गरिने श्रम मन्त्रालयले जनाएको छ।

सरकारले अफगानिस्तान, लिबिया, इराक र सिरिया युद्धग्रस्त देश भएका कारण श्रम स्वीकृति रोकिएको मन्त्रालयको भनाइ छ। असुरक्षित देश भएकाले सुरक्षाको कारण देखाउँदै श्रम रोकिएको हो। हाल श्रम कार्यालयमा दैनिक १ सय भन्दा धेरै श्रम स्विकृति लिन धाउने गरेका छन्।       

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट आवश्यक कागजातहरु प्रस्तुत गर्न नसकेको वा भ्रमण शंकास्पद भएका व्यक्तिको भिजिट भिसामा पनि कडाइ गरिएको छ।

ट्राभल एजेन्सी, एयरलाइन्स, टुर अपरेटर तथा म्यानपावर व्यवसायीका प्रतिनिधिका नाममा खाडीका देश र मलेसिया जाने नेपालीको भिजिट भिसा शंकास्पद भएपछि निगरानी बढाएको कार्यालयले जानकारी दिएको छ।

मंगलबार कार्यालयले सूचना जारी गदै भिजिट भिसा जाने लागेका व्यक्तिलाई आवश्यक कागजात नपुगे जतिबेला पनि रोक्न सक्ने जनाइएको छ। भिजिट भिसामा गएर विदेशमै अलपत्र हुने क्रम बढ्दै गएपछि नियन्त्रण गर्न लागिएको हो। यो विषयमा व्यक्ति स्वयं आएर थप बुझ्न सक्ने व्यवस्था मिलाइएको व्यहोरा समेत सूचित गरिएको छ।

साउदीमा कडाइ
साउदी अरब सरकारले रोजगारीका लागि अथवा अन्य पेशाका लागि आफ्नो मुलुक जाने वा फर्किने विदेशी नागरिकलाई धन सम्पत्ति बोक्न कडाइ गरेको छ।

अब विदेशी नागरिकले उक्त देश जाँदा वा त्यहाँबाट फर्किंदा ६० हजार रियाल (करिब १८ लाख रुपैयाँ) वा सो मूल्यबराबर भन्दा बढीका सामानको घोषणा गर्नुपर्ने भएको छ। 

नेपालस्थित साउदी राजदूतावासले नेपालको कन्सुलर सेवा विभागलाई पत्राचार गर्दै यसको जानकारी गराएको छ। पछिल्लो समय साउदीको विमानस्थल प्रयोग गदै कतार,  कुवेत,  ओमन र बहराइन हुँदै तेस्रो देश सुन, पैसा र अन्य समान भित्रिने र बाहिरिने क्रम बढेपछि साउदी सरकारले कडाइ गर्न थालेको हो।  

कन्सुलर सेवा विभागको सूचनाअनुसार अध्यागमन विभागले सूचना जारी गर्दै ‘साउदी अबर जाँदा र फर्किंदा आगन्तुकहरूले ६० हजार साउदी रियाल वा सोभन्दा बढी मूल्य बराबरको वित्तीय साधन, सुन तथा सुनका गहना वा अन्य विदेशी मुद्राको अनिवार्य घोषणा गर्नुपर्ने’ जनाएको छ।

साउदी अरबस्थित विमानस्थलको प्रस्थान र आगमनमा भन्सार घोषणा प्रणालीको उल्लंघन हुन थालेपछि उक्त मुलुकले कडाइ गरेको हो।

जबरजस्ती समान बोकेर जान र आउन खोजेमा उक्त वस्तु जफत समेत गर्न सकिने जनाइएको छ। उक्त सूचना जारी भएयता यस्तो कार्य गर्न रोक लगाइएको छ। सन् २०१८ नोभेम्बर २२ देखि यो निर्णय लागू गर्ने भने पनि जनवरीदेखि लागू गर्ने सूचनामा उल्लेख गरिएको छ।
 

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने