डिस होमले बतायो ग्राहक संख्या, उसकै हिसाबमा कति हुन्छ कर छली?

दुर्गा दुलाल/उत्तम काप्री | २०७५ पौष १२ बिहीबार | Thursday, December 27, 2018 १५:११:०० मा प्रकाशित

काठमाडौं– व्यवसायी चन्द्र ढकालले अगुवाइ गर्ने आइएमई ग्रुपको वर्चस्व रहेको डिस मिडिया नेटवर्क (डिस होम) ले अन्ततः आफ्नो ग्राहक संख्या १५ लाख रहेको स्वीकार गरेको छ। 

केही दिनअघि पत्रकार सम्मेलन गर्दै डिस होमले १५ लाख सेटअप बक्स जडान भएको स्वीकार गरेको हो। 

ग्राहक संख्या लुकाउँदै कर छली गरेको विषय नेपाल लाइभले उजागर गरेसँगै डिस मिडिया नेटवर्कले आफूले तिरेको विभिन्न शीर्षकको करसमेत सार्वजनिक गरेको छ। डिस होमले ९ वर्षको अवधिमा ४ अर्ब रुपैयाँभन्दा बढी कर तिरको दाबी गरे पनि ग्राहक संख्या र तिरेको करको विवरण भने मेल खाँदैन।

डिस होमले ९ वर्षको अवधिको समयमा विभिन्न शीर्षकमा तिरेको कर विवरण यस्तो छ–
–भन्सारबापत ८७ करोड २० लाख ११ हजार ७८ रुपैयाँ
–मूल्य अभिवृद्धि करबापत २ अर्ब ५२ लाख २२ हजार २ सय ९५ रुपैयाँ
–रोयल्टीबापत १९ करोड ३५ लाख ४६ हजार ४ सय ५४ रुपैयाँ
–आयकरबापत ४५ करोड ३० लाख १७ हजार ४ सय रुपैयाँ
–ग्राहकबाट संकलित टिडिएसबापत ५३ करोड ८५ लाख १ हजार ६ सय ५१ रुपैयाँ

१५ लाख ग्राहक रहेको डिस होमले तिर्नुपर्ने कर कति?
डिस होमले आफ्नो ग्राहक संख्या १५ लाख रहेको बताउँदै गर्दा उसले मासिक तिर्नुपर्ने करको मोटामोटी हिसाब गरौं। डिस होमले जुनजुन शीर्षकमा जेजति कर तिरे पनि १३ प्रतिशत मूल्य अभिवृद्धि कर महत्वपूर्ण विषय हो।

मूल्य अभिवृद्धि करमा पनि डिस होमले मासिक रुपमा ग्राहकसँग असुल गर्ने रकमको विषयमा हामीले सरदर हिसाब गर्न खोजेको छौं। डिस होमले सामान्यतः औसतमा एउटा ग्राहकसँग मासिक विभिन्न प्याकेजका नाममा भ्याटसहित ४ सय रुपैयाँभन्दा बढी लिन्छ। 

ग्राहकबाट असुल्ने न्यूनतम ४ सय भन्नुको आधार डिस होमले सेवा विस्तारमा ल्याएका विभिन्न नामका १० वटा प्याकेज हुन्। यही प्याकेज अनुसार सेवा लिने ग्राहक संख्यालाई हामीले करको हिसाबकिताबको आधार मानेका हौं।

तर, तालुकदार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय र कर कार्यालयले भने डिस होमको ग्राहक संख्या सार्वजनिक गर्न सकेका छैनन्। यही फाइदा उठाउँदै डिस होमले आफूखुसी ग्राहक संख्या बताउँदै कर तिर्दै आएको छ। 

डिस होमले अहिले स्टान्डर्ड डेफिनेसन अन्तर्गत ६ वटा र एचडी अन्तर्गत ४ वटा गरी १० वटा प्याकेजमा ग्राहक बनाइरहेको छ। स्टान्डर्ड डेफिनेसनअन्तर्गत बेसिक प्याकको मासिक ३ सय ५०, बेसिक प्लसको मासिक ४ सय २५र डिलक्सको मासिक ५ सय रुपैयाँ लिँदै आइरहेको छ। यसमा ३ वटासम्म सेटअप बक्स जडानबाहेक अर्को सेटअप बक्स राखिएमा प्रति सेटअप बक्स २ सय रुपैयाँ ग्राहकले थप्नुपर्छ।

डिलक्स प्लसको प्याकेज लिने ग्राहकले पनि प्रतिमहिना ५ सय ७५, मिडियम प्लसको ४ सय ७५ र मिडियमको ४ सय रुपैयाँ ग्राहकले प्रतिमहिना तिर्नुपर्छ।

यसैगरी, डिस होमले एचडी प्याकेज अन्तर्गतको ‘लाइफ स्टाइल प्याक’मा बढीमा ४ वटा सेटअप बक्स जडान गर्न मिल्ने गरी पहिलोमा ९ सय रुपैयाँ र थप ३ का लागि प्रति सेटअप बक्स १ सय रुपैयाँ लगाउँछ।

एचडी प्याकेजकै प्रिमियम एचडीमा ६ सय र प्रति थप ३ वटा टिभीमा प्रतिमहिना २ सय रुपैयाँ डिस होमले असुल्दै आइरहेको छ। साथै एचडी प्याकेजकै सुपर एचडी प्लस प्याकको ५ सय ७५ र सुपर एचडीको ५ सय ७५ रुपैयाँ प्रतिमहिना शुल्क छ।

यसरी मासिक प्याक अनुसार रकम असुली गर्नुपूर्व डिस होमले छाता र सेटअप बक्स चलाउन आवश्यक उपकरणको ३ हजार र जडानबापत ५ सय रुपैयाँ लिँदै आएको छ। एउटै छाताबाट ३ र ४ वटा सेटअप बक्स चलाउन मिल्ने प्याकेजमा पनि प्रति सेटअप बक्स २ हजार रुपैयाँ लिइन्छ।

सेटअप बक्सको विषयलाई छोड्दा पनि डिस होमले सरदर एउटा ग्राहकसँग मासिक ४ सय रुपैयाँभन्दा बढी लिने यही हिसाबकिताबले प्रस्ट पार्छ।

यसरी मासिक ग्राहकसँग लिने ४ सय रुपैयाँ (भ्याटसहित) को १३ प्रतिशत रकम कम्पनीले सरकारलाई तिर्नुपर्ने हुन्छ। कानुन अनुसार ४ सय रुपैयाँको १३ प्रतिशत रकम सरकारलाई तिरेर बाँकी रहेको रकममा पनि सरकारलाई थप २ प्रतिशत रोयल्टी तिर्नुपर्छ।

यसरी सरकारलाई तिर्नुपर्ने कर र रोयल्टी रकम छलीकै लागि डिस होमले आफ्नो ग्राहक संख्या लुकाउँदै आफूखुसी रकम तिर्दै आएको थियो। तर डिस होमले स्वीकार गरेको ग्राहक संख्याअनुसार चालु आर्थिक वर्ष २०७५/०७६ को पहिलो चार महिनामा तिरेको कर अन्तर मिल्दैन।

माथि उल्लेख गरिएको तथ्यलाई आधार मान्दै प्रतिग्राहक ४ सय (यसको १३ प्रतिशत भ्याट कटाएर ३ सय ४८) रुपैयाँका दरले हिसाब गर्दा पनि चालु आवको साउनदेखि कात्तिकसम्म डिस होमले २७ करोडभन्दा बढी कर तिर्नुपर्ने हुन्छ। उसैले स्विकारेको १५ लाख ग्राहकबाट तिर्नुपर्ने रकम हो यो। तर, ग्राहक संख्या अतिन्यून देखाउँदै डिस होमले यही अवधिमा ५ करोड ४० लाख रुपैयाँ मात्रै कर तिरेको देखाएको छ। 

डिस होम मिडियाले सामान्यतः प्रतिग्राहक ४६ रुपैयाँभन्दा बढी कर तिर्नुपर्ने हुन्छ।

डिस हाेमकाे कर छली सम्बन्धमा नेपाल लाइभले प्रकाशन गरेका विशेष सामग्री:

‘कर छल्न ग्राहक संख्या लुकाउँछ डिस होम’ 

डिस होमले आँखाअगाडि कर छल्दा पनि तालुकदार मन्त्रालय बेखबर 

प्रतिमहिना कम्तीमा ४ करोड कर छल्छ डिस होम, हेर्नुस् हिसाबकिताब 

कर छल्ने डिस होम आन्तरिक राजस्व र ठूला करदाताको निगरानीमा

कर छल्ने डिस होममा ठूला करदाताको छापा, कागजात जफत

कर छल्ने डिस होम राजस्व अनुसन्धान र ठूला करदातासँगै अब आन्तरिक राजस्व विभागको निगरानीमा