ad

इपिएल : ६ टिम, १९ खेल, कसले जित्ला उपाधि?

Nepal Live

काठमाडौं– एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता शनिबार सुरु हुँदैछ। इंग्ल्यान्ड, आयरल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड, यूएई, भारत र हङकङका चर्चित खेलाडीको सहभागिता रहेको इपिएलमा ६ सहरका ६ टिमबीच प्रतिस्पर्धा हुँदैछ। 

१५ दिन चल्ने लिगमा १९ खेल हुनेछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने लिगमा काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज र चितवन टाइगर्स प्रतिस्पर्धा गर्नेछन्।

लिग चरणमा प्रत्येक टिमले एकआपसमा खेल्नेछन्। लिगमा शीर्ष हुने दुई टिमबीच पहिलो क्वालिफायर हुनेछ। जित हात पार्ने टिम फाइनलमा पुग्नेछ। हार्ने टिमले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ।

लिगमा तेस्रो र चौथो हुने टिमबीच एलिमिनेटर हुनेछ। जित हात पर्ने टिम दोस्रो क्वालिफायरमा पुग्नेछ। दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ।  पाँचौ र छैटौं हुने टिम लिग चरणबाटै बाहिरिनेछन्।

 उद्घाटन खेलमा विराटनगर वारियर्स र ललितपुर पाट्रिओट्सबीच प्रतिस्पर्धा हुनेछ। 

नामले होइन कामले जितिन्छ खेल

सहभागी टिमका ६ कप्तान र टिम मालिकको उपस्थितिमा बिहीबार इपिएलको उपाधि जित्न टिमलाई प्रदान गरिने ट्रफी सार्वजनिक गरियो। ट्रफी सार्वजनिक कार्यक्रम ६ कप्तानले नै टिम राम्रो बनेको र उपाधि जित्ने दाबी गरे।

साविक विजेता विराटनगर वारियर्सका कप्तान पारस खड्काले इपिएलले नेपाली क्रिकेटको विकासमा योदगान दिएको भन्दै आयोजक र प्रायोजकलाई धन्यवाद दिए। उनले टिम राम्रो बनेको बताउँदै यसपटक पनि उपाधि रक्षा गर्न मैदानमा राम्रो खेल्नु पर्ने बताए।

ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले टिममा घरेलु लिगमा चलेका खेलाडी भएकाले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। ललितपुरले तीन जना भारतका खेलाडी आवद्ध गरेको छ। तीनै जना घरेलु क्रिकेट खेलेका खेलाडी हुन्। नाम चलेका विदेशी खेलाडी किन नल्याएको भन्ने प्रश्नमा  कप्तान ज्ञानेन्द्रले भने,'खेल जित्न नाम होइन काम चाहिन्छ। हाम्रो टिम रहेका खेलाडीले मैदानमा काम गर्ने विश्वास छ।' 

पोखराले कप्तानको जिम्मेवारी  केइल कोइट्जरलाई सुम्पेको छ। कोइट्जर स्कटल्यान्ड राष्ट्रिय टिमका कप्तान समेत हुन्। उनले टिममा युवा खेलाडी भएको र अस्ट्रेलियन प्रशिक्षकले मिहिनेत गरेकाले राम्रो नतिजाको अपेक्षा गरेको बताए। उनले नेपाल जस्तो क्रिकेटप्रेमी भएको देशमा आएर खेल्न पाउदा उत्साहित भएको समेत बताए।

काठमाडौंको कप्तानमा सोमपाल कामी छानिएका छन्। उनी गत सिजनमा मार्की खेलाडी भएपनि कप्तानको भूमीकामा थिएनन्। उनले पनि टिममा नाम चलेका खेलाडी भएपनि खेल जित्न मैदानमा चल्नु पर्ने प्रतिक्रिया दिए। काठमाडौंमा यूएईका कप्तान रोहान मुस्ताफा र आयरल्यान्डका केभिन ओ ब्राइन आवद्ध छन्। यसअघि जिम्बावेका सिकन्दर राजा आउने बताएपनि उनी अन्तिम समयमा नआउने भएका छन्। उनले केभिन जस्ता अनुभवी खेलाडी टिममा हुँदा निकै पाइदा पुग्ने तर्क गरे। 

गत सिजनको उपविजेता भैरहवा ग्लाडियर्टको पनि यसपटको लक्ष्य उपाधि नै हो। कप्तान शरद भेषवकारले टिममा आइपिएल खेलेका रायन टेन डोसच्याटे जस्ता खेलाडी भएकाले उत्साहित भएको प्रतिक्रिया दिए। उनले खेल जित्न भने नाम होइन काम गर्नु पर्ने ज्ञानेन्द्रको भनाईसँग सहमती जनाए। 

चितवन टाइगर्सले कप्तानको रुपमा पृथु बाँस्कोटालाई नियुक्त गरेको छ। नेपाली यू–१९ राष्ट्रिय टिमका पूर्व कप्तान पृथुले पहिलो पटक फ्रेन्चाइज लिगमा कप्तानी सम्हाल्न लागेका हुन्। उनले टिममा युवा खेलाडी भएको बताउँदै उत्कृष्ट खेल्ने विश्वास व्यक्त गरे। 

१९ जना विदेशी खेलाडी

चितवन टाइगर्समा पाउल स्टर्लिङ (आयरल्याण्ड), जोन सिमसोन र  जर्ज स्कट (इङल्याण्ड) विदेशी खेलाडीको रुपमा आवद्ध छन्। स्टर्लिङ आयरल्यान्डका भरपर्दा ओपनिङ ब्याट्सम्यान हुन्। 

भैरहवा ग्लाडियटर्समा रायन टेन डोसच्याटे (नेदरल्याण्डस), मोहम्मद नाभिद (युएई) र रवि इन्दर सिंह (भारत) आवद्ध छन्।  डोसच्याटेसँग आइपिएल खेलेको अनुभव छ। 

विराटनगर वारियर्सले चार विदेशी खेलाडी अनुबन्धन गरेको छ। बाबर हायत (हङकङ), पाउल भान मेकेरेन (नेदरल्याण्डस), रुलोफ भान डेर मर्वे (नेदरल्याण्डस) र स्मीत पटेल भारतलाई अनुबन्ध गरेको छ। 

काठमाडौँ किङ्स–११ ले रोहन मुस्तफा (युएई) र केभिन ओ ब्रायन (आयरल्याण्ड) सँग सम्झौता गरेको छ। दुवै खेलाडी आ–आफ्नो देशको राष्ट्रिय टिमको कप्तान हुन्। 

ललितपुर प्याट्रियसले जयकिसन कोल्सावल, सन्नी पटेल र गौरव तोमर (भारत)लाई ल्याएको जनाएको छ। पोखरा राइनोजले सन्नी भिमसारिया (हङकङ), केइल कोइट्जर (स्कटल्याण्ड), पाउल कोलिन र रिचार्ड लेभी (दक्षिण अफ्रिका)लाई ल्याएको छ।

चियर्सलिडर्सको ‘क्रिकेटेन्मेन्ट’

इपिएलका लागि अन्तर्राष्ट्रिय ‘चियर्सलिडर्स’ ल्याइएको छ। अघिल्लो सिजनमा स्वदेशी युवतीले ‘चियर्सलिडर्स’ रुपमा काम गरेकोमा यसपटकदेखि विदेशी युवातीलाई ‘चियर्सलिडर्स’ रुपमा ल्याइएको हो।

आयोजक इपिएलले ६ जना ब्रिटिस युवतीले ‘चियर्सलिडर्स’ रुपमा काम गर्ने बुधबार होटल सांग्रिलामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको थियो। उनीहरुले प्रत्येक खेलका दौरान टिमको सफलतामा नाचेर मनोरन्जन प्रदान गर्नेछन्। हरेक टिमका लागि ३–३ जना युवाती मैदानमा हुनेछन्। युवतीले विकेट, चौका र छक्कामा नाच्नेछन्।

इपिएलका कार्यकारी निर्देशक आमिर अख्तरका अनुसार ‘चियर्सलिडर्स’ का लागि खाने, बस्ने र पकेट खर्च प्रदान गरिएको छ। ‘नेपाल आएका ६ ‘चियर्सलिडर्स’ले इन्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली डेयरडेभिल्स (दिल्ली क्यापिटल्स्) का लागि काम गरिसकेका छन्। 

नेपाल आएका ‘चियर्सलिडर्स’ले भारतमा भइरहेको हकी विश्वकपको उद्घाटन खेलमा पनि आफ्नो प्रस्तुति दिएका थिए। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने