हृदयाघातपछिको गोल्डेन आवर के हो ?

नेपाल लाइभ

Nepal Live

डाक्टरहरुका अनुसार मुख्य अस्पतालमा भर्ना गरिएका मुटुरोगीमध्ये ४० प्रतिशत हृदयघातका हुने गरेका छन् । हृदयाघात भएकामध्ये पनि ५० प्रतिशतको घर र बाटोमै मृत्यु हुने गरेको छ । अस्पताल पुगेका मध्ये पनि ३० प्रतिशतको उपचारका क्रममा मृत्यु हुन्छ। 

मुटुरोग विशेषज्ञहरुका अनुसार छाती दुख्न थालेको समयलाई हृदयाघातको सुरुवात मान्नुपर्छ । छाती दुख्न सुरु भएको १ घन्टाभित्र रगतको थेग्रो जमेर बन्द भएको कोरोनरी रक्तनलीलाई औषधि दिएर वा एन्जियोप्लास्टीबाट  खोल्न सकिन्छ। मेडिकल भाषामा यसलाई ‘गोल्डेन आवर’ भनिन्छ। 

मुटुरोग विशेषज्ञहरुका अनुसार हृदयाघातका कारण बेहोस भएका व्यक्तिलाई १ घन्टाभित्र उपचार सुविधा भएको स्थानमा पुयाइसक्नुपर्ने हुन्छ । गोल्डेन आवरमा अस्पताल नपुगेका धेरै मानिसको बाँच्ने सम्भावना कम हुन्छ । यस्तै, केही केहीका हकमा भने बेहोस भएर ढलेको ९० मिनेटसम्म पनि गोल्डेन आवर हुनेगर्छ। 

जीवनशैलीसँग सम्बन्धित मुटुरोगमा हृदयाघात, उच्च रक्तचाप आदि पर्छन् । मुटुरोगमध्ये हृदयाघातलाई मानव मृत्युको प्रमुख कारण मानिँदै आएका छ । डाक्टरहरुका अनुसार मुटु मांसपेशीको डल्लो हो, यसले पम्पको काम गर्छ र शरीरभर रक्तसञ्चालन गराउँछ । मुटुलाई काम गर्ने ऊर्जा मुटुका मांसपेशीको बाहिरी भागमा रहेका ३ वटा कोरोनरी रक्तनलीहरुमा प्रवाहित रगतमार्फत ग्लुकोज र अक्सिजनबाट प्राप्त हुन्छ । त्यसकारण मुटुलाई आवश्यक पर्ने ऊर्जा प्राप्त हुन मुटुका कोरोनरी रक्तनलीहरु स्वस्थ हुनु जरुरी छ। 

तर, यी रक्तनली विभिन्न कारणबाट कोलेस्टेरोल (बोसो) जमेर साँगुरो हुने गर्छ । जसका कारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीहरुमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन । विस्तारै कोरोनरी रक्तनली पूरै बन्द हुने सम्भावना बढ्छ । रक्तनली पूरै बन्द भएको खण्डमा रगतको प्रवाह पनि पूरै बन्द हुन्छ र मुटुमा ऊर्जाको आपूर्ति ठप्प हुन्छ।

मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षत्रिग्रस्त हुन थाल्छ र यो क्रम लम्बिँदै गएमा मांसपेशी मर्छ र यसले काम गर्न छाड्छ । यो अवस्थालाई हृदयघात भएको भनिन्छ।हृदयघात हुँदा छातीको बीच भागमा असह्य पीडा हुन्छ । हृदयाघात भएका व्यक्तिले समयमै उपचार नपाए तत्काल मृत्यु हुन सक्छ।

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने