काठमाडौं– संघीय संसद सचिवालयले मौलिक हकसम्बन्धि सबै विधेयक विधिसम्मत ढंगले पारित भएको जनाएको छ।
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरी संविधानमा व्यवस्था गरिएको मौलिक हकसम्बन्धि विधेयक तोकिएकै समय भित्र विधिसम्मत ढंगले पारित गरिएको औंपचारिक जानकारी गराएका हुन्।
बुधबार(असोज ३ गते) भित्र निर्माण गरिसक्नु पर्ने मौलिक हकसँग सम्बन्धित सबै विधेयक निर्माण कार्य विधिसम्मत ढंगले पूरा गरिएको सभामुख महराले बताए। उनले सरकारले केही विधेयक ढिला गरी ल्याएपनि त्यसलाई प्रक्रिया पुर्याएरै पारित गरिएको पनि स्पष्ट पारे। भदौ ३१ गतेसम्म प्रतिनिधिसभा र राष्ट्रियसभाले मौलिक हकसँग सम्बन्धित १६ वटा विधेयक पारित गरेको थियो। सभामुख महराले संघीय संसदबाट पारित विधेयकहरु राष्ट्रपतिले आजै प्रमाणिकरण गर्ने जानकारी पनि दिए।
सभामुख महराले मौंलिक हकसँग सम्बन्धित विधेयक निर्माणका लागि सहयोग गरेकोमा सरकार, प्रमुख प्रतिपक्ष दललगायतका सबै राजनीतिक दल, संसदीय समितिहरु, संसद सचिवालयका सबै कर्मचारीहरुलाई पनि धन्यवाद दिए। उनले प्रतिनिधिसभामा ७ वटा र राष्ट्रियसभामा रहेका ३ वटा विचाराधीन विधेयक पनि १५ दिन भित्र पारित गरीसक्ने योजना पनि सार्वजनिक गरे।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक व्यवस्था अनुसार पारित गर्नुपर्ने विधेयक संसदमा पेस गर्न सरकारलाई ताकेता गरिरहेको बताए। उनले मौलिक हकसँग सम्बन्धित कानुन निर्माण कार्य पहिलो प्राथमिकतामा भएकाले संसदको वर्षे अधिवेशनमा ती विधेयकलाई उच्च प्राथमिकता दिनु परेको पनि स्पष्ट पारे।
सरकारले हालसम्म ३२ वटा विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएको छ। तीमध्ये २२ वटा विधेयक पारित गरिएको पनि प्रतिनिधिसभाका सभामुख महराले जानकारी दिए। बाँकी १० वटा विधेयक पनि यही अधिवेशनमा पारित गरिसक्ने संघीय संसद सचिवालयको योजना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।