गण्डकी प्रदेशको राजनीतिमा परिवर्तन आएको छ। जनमोर्चाका सांसद कृष्ण थापा विपक्षी दलको गठबन्धनको पक्षमा नदेखिएपछि पार्टीले संसदीय दलको नेताबाट हटाएको छ। यसपछि भने राजमोसहितको हस्ताक्षरमा कांग्रेस, माओवादी केन्द्र र जसपाले नयाँ सरकारको दाबी गर्ने अवस्था बन्ने देखिएको छ। थापाले पद गुमाए भने विपक्षी गठबन्धनको सहज बहुमत पुग्नेछ। पार्टीले स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया शुरु गरेपछि थापा भने गृह जिल्ला बागलुङ पुगेका छन्। त्यहीँबाट उनले आफूलाई स्पष्टीकरण र कारबाहीबारे थाहा नभएको नेपाल लाइभसँग बताए। उनले आफू तटस्थ रहेको भन्दै प्रदेश प्रमुख सीता पौडेललाई पत्र लेखेको खुलेको छ। उनै थापासँग लिलु डुम्रेले गरेको कुराकानीः
राजनीतिक सरगर्मी त बढ्यो नि?
काठमाडौंमा?
गण्डकी प्रदेशमा काठमाडौंमा भन्दा बढी देखियो नि?
काठमाडौंमा पनि छ नि। पोखरामा अलि बढियो देखियो र? ठिकै छ नि। के भो र?
तपाईंले गठबन्धनको पक्षमा हस्ताक्षर नगर्ने अडान किन लिनुभयो?
हिजो पार्टीको बैठकमा पनि मैले कुरा राखें। हस्ताक्षर नगर्ने मेरो अडान हो।
पार्टीको निर्देशन नमानेको भनी तपाईलाई पार्टी अध्यक्षले स्पष्टीकरण सोध्नुभएको रहेछ। पत्र पाउनुभयो?
के मा कसरी सोध्नुभएछ?
अध्यक्षले भनिसक्नुभएको छ नि? सञ्चारमाध्यममा खबर पनि आइसकेको छ। तपाईंले थाहा पाउनुभएको छैन र?
स्पष्टीकरण सोधिएको मलाई केही थाहा छैन। आफ्नै घर बागलुङको जैमनी नगरपालिका वडा नम्बर ४ को सर्कुवामा २ बजेर ५ मिनेटमा म आइपुगेको छु। स्पष्टीकरण सोधेकै भन्नुभएको छ र अध्यक्षले?
पार्टी निर्देशन नमानेकाले स्पष्टीकरण सोधेको भन्नुभएको छ। तपाईंले थाहा नपाएको हुन सक्ला र?
स्पष्टीकरण सोधेको भए आउँदै होला बाटोमा। अचेल त हुलाकबाट आउने चलन छैन के रे। फेसबुक तिरबाट आउने हो कि! यहाँ मेरो घरतिर नेट पनि राम्रो चल्दैन। फेसबुकतिर राखेको भए अलि छिटो चाहिँ देख्न पाइने थियो। ह्वीप आए जसरी आउने हो कि!
पार्टी अध्यक्षले स्पष्टीकरण सोधेको छु भनेपछि साँचो नै होला। किन ढाँट्नु भयो होला र? स्पष्टीकरण बाटोमा आउँदै होला।
स्पष्टीकरण दिनुभन्दा पार्टी वा सांसदबाट नै राजीनामा दिने भन्ने सोच त तपाईंको छैन नि?
राजीनामा दिने सोच केही बनाएको छैन।
कारबाही गरे भोग्छु भन्नेमा दृढ हुनुहुन्छ?
कांग्रेसको सरकार नबनाइदिएका कारणले कारबाही भोग्न परे तयार छु। कांग्रेसको मुख्यमन्त्री नबनादिएर कारबाही भोग्न परे इतिहासकै रेकर्ड हुन्छ। इतिहासकै रेकर्डमा बस्ने भएपछि राम्रै होला नि है देशका लागि। हैन र?
जनमोर्चाको सांसदले पार्टीको निर्देशन नमानेको पनि इतिहासकै रेकर्ड होला नि?
पहिलो यो होइन। मेरो दोस्रो हो।
मुख्यमन्त्री एमालेकै बनाउनका लागि तपाईं बिक्नु भयो भन्ने आरोप छ नि?
आरोप त लगाउन सक्छन्। तर, उनीहरुले एउटा मात्रै प्रमाण मलाई देखाउन सक्नुपर्यो। चुनौती दिन्छु।
पार्टीले दिएको निर्देशन तपाईंले अटेरी गर्नुको कारणचाहिँ के भनिदिनु न?
देशमा कांग्रेसको सरकार धेरै वर्ष र समय हेरिएकै हो। उनीहरुको सरकार बनेर हुन्छ के त? कारण नै त्यही हो। उनीहरुलाई सरकार बनाउने कुरामा म सहमत छैन।
पार्टीले कारबाही गरे भोग्न तयार छु। तर, कांग्रेस नेतृत्वको सरकार हुन्न भन्ने हो तपाईंको अडान?
त्यो मेरो दृढ संकल्प हो। मैले कांग्रेसलाई नै हराएर चुनाव जितेको पनि हुँ। अहिले पनि कांग्रेसलाई हराउने मेरो चाहना हो। कांग्रेसलाई धेरै मतान्तरले जितेको हुँ मैले।
मैले हराएको कांग्रेसलाई नै मत दिएर सरकार बनाएको भन्नुपर्दा निर्वाचन क्षेत्रका जनताकासामु मुख देखाउन पनि लाज लाग्छ। मलाई अप्ठ्यारो पनि हुन्छ। मेरो निर्वाचन क्षेत्रमा अरु पनि माननीय हुनुहुन्छ। थापाले यो तीन वर्षमा आफ्नो निर्वाचन क्षेत्रमा के काम गर्यो हेर्न सक्नुहुन्छ। ५/१० वर्ष सांसद भएका र म तीन वर्ष भएको प्रदेश सांसदको विकासको अन्तर पनि उहाँहरुले हेर्न सक्नुहुन्छ।
तपाईंले जनताको पक्षमा काम गरिहनुभएको रहेछ। अध्यक्षले तपाईंको कुरा र काममा किन विश्वास गर्नुभएन? उहाँसँग केही कुरा भएको छैन?
अहिले धेरै सांसद जस्केलाबाट चुनिने गरेका छन्। कांग्रेसलाई धेरै खुशी बनाउने स्थिति देशमा किन भयो होला जस्तो लाग्छ।
तपाईले एक मत नदिँदा गण्डकी प्रदेश मध्यावधितिर जाने सम्भावना त थियो नि?
त्यो त के भन्न सकियो र? कांग्रेस र माओवादीको सरकार बन्न सक्ला नि। मैले मत नदिएका कारण पृथ्वी सुब्बा गुरुङ फेरि मुख्यमन्त्री त हुन सक्ने थिए कि। उनले विश्वासको मत नपाए फेरि कांग्रेस माओवादीको बन्ला नि?
गण्डकी प्रदेशमा अस्थिरता सिर्जना गर्ने काम जनमोर्चाबाट भयो।
त्यसमा त तपाईं पनि दोषी हो नि?
मलाई कुनै अनौठो छैन। वैशाख २६ सम्म गुरुङ नेतृत्वको सरकारलाई समर्थन थियो। त्यो तीन वर्षको समर्थन त्यसै भएको हो र? दुई दिनमा नै फरक कसरी हुन्छ?
पोखरा अब कहिले फर्किनुहुन्छ?
पोखरा त अब आउन नदेलान् कि जस्तो छ। जनताको पक्षमा बोल्ने मान्छे हुँ। कारबाही पनि स्वागत नै छ। मेरो निर्वाचन क्षेत्रमा कांग्रेसले के के दुःख दियो त्यसको पक्षमा म बोलेकै छु। त्यसले गर्दा मलाई कुनै अनौठो छैन।
सांसद पद पाएको जम्मा तीन वर्ष न भयो। राजनीतिक जीवन संगठनात्मक काम, मैले गर्ने क्रियाकलाप त कसैले छेक्दैन होला नि। नेपालमा बाँच्न त पाइन्छ होला नि,कि पाइँदैन र?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।