काठमाडौं- राष्ट्रिय जनमोर्चा नेपालले आफ्नो पार्टीका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापालाई प्रदेश सभा सदस्यबाट समेत हटाउने तयारी अघि बढाएको छ। बुधबार दिउँसो मात्र उनलाई जनमोर्चाले प्रदेश सभा संसदीय दलको नेताबाट हटाएको थियो।
थापाले गण्डकीमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली नेतृत्वको विपक्षी गठबन्धनलाई सघाउने पार्टीको निर्णय उल्लंघन गरेको आरोपमा जनमोर्चाले कारबाही अघि बढाएको हो।
जनमोर्चाको केन्द्रीय कमिटीले बुधबार बिहान १० बजेर २५ मिनेटमा उनलाई इमेलमार्फत् स्पष्टीकरण सोधेको थियो। एक घण्टाको समय दिइएको स्पष्टीकरणमा तपाईंलाई संसदीय दलको नेताबाट हटाउनेलगायत अन्य कारबाही किन नगर्ने भनेर सोधिएको थियो।
'पार्टीलाई अटेर गरी स्पष्टीकरण नबुझाएकाले हामीले दलको नेताबाट हटाइसकेका छौं, त्यसको जानकारी प्रदेश सभा सचिवालयमा गराइसकेका छौं', जनमोर्चा महासचिव मनोज भट्टले भने।
स्पष्टीकरण नबुझाएकै कारण उनलाई थप कारबाही अघि बढाउने जनमोर्चाको तयारी छ। गण्डकीमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुंगले राजीनामा गरेपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दिएको समय आज सकिँदैछ। जनमोर्चाका थापाले हस्ताक्षर गर्न नमानेका कारण कांग्रेस नेतृत्वको गठबन्धनमा बहुमत पुगेको छैन।
यही अवस्थलाई मध्यनजर गरेर जनमोर्चाले उनलाई सांसदबाटै हटाउने तयारी अघि बढाएको छ। 'स्पष्टीकरणको समय घर्किसकेको छ, अब अरु कारवाही किन नगर्ने भन्नेबारे उहाँको जवाफको प्रतिक्षामा छौं। जवाफ नआए त प्रक्रियामा जानुपर्ला नि', जनमोर्चाका अर्का एक नेताले भने।
जनमोर्चाले थापालाई सांसदबाटै कारबाही गर्यो भने गण्डकीमा सरकार बनाउन कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनलाई बहुमत पुग्नेछ। यहीकारण पनि तत्काल निर्णय लिने दबाब बढेको ती नेताले बताए।
जनमोर्चा महासचिव भट्टले भने नयाँ सरकार गठनका लागि दाबी प्रस्तुत गर्न बुधबार दिउँसो आफ्नो पार्टीका सचेतकको नामबाट विपक्षी गठबन्धनलाई सहमति पत्र दिइसकेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।