काठमाडौं– माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले राज्यका सवै स्रोत साधन प्रयोग गरी अक्सिजन आपूर्ति सहज गर्न माग गरेका छन्। उनले जनताको जीवन रक्षाका लागि सम्पूर्ण स्रोत लगाउन समेत सरकारलाई सुझाव दिएका छन्।
काठमाडौंमा मात्र दैनिक ८–१० हजार सिलिन्डर उत्पादन हुने भनिएको बताउँदै उनले उक्त अक्सिजन कसले वितरण गर्छ र कहाँ खपत भइरहेको छ? भन्दै प्रश्नसमेत गरेका छन् ।
‘काठमाडौंमा अक्सिजन अभावमा अस्पतालले बिरामी उपचार गर्न नसक्ने घोषणा गरेका छन्,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘काठमाडौंमा मात्र दैनिक ८–१० हजार सिलिन्डर उत्पादन हुने भनिएको छ। उक्त अक्सिजन कसले वितरण गर्छ र कहाँ खपत भइरहेको छ?’
क्षमता वृद्धि गर्न नसके पनि हाल भएको अक्सिजनको खपतबारे जनतालाई जानकारी गराउनुपर्ने समेत शर्माको भनाइ छ।
आफूले जनताको जीवन रक्षा गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भनेका छन्, ‘राज्यसँग भएको सम्पूर्ण स्रोतसाधन तथा जहाजसमेत प्रयोग गरी सम्भव भएका विदेशी नियोगसमेतको सहायता लिई अक्सिजन आपूर्ति सहज गरी जनताको जीवन रक्षा गरियोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।