काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीले परिस्थितिको आकलन गरेर त्यहीअनुसार अघि बढ्ने निर्णय गरेको छ।
प्रतिपक्षी दलहरुले संयुक्त सरकार निर्माणको पहल गरिरहेका बेला नेपाल पक्षले भने त्यसका लागि आफ्नो भूमिका नहुने बताएको छ।
स्थायी कमिटी बैठकबारे जानकारी दिँदै स्थायी कमटी सदस्य बेदुराम भूषालले भने, ‘आजको बैठकमा परिस्थितिको समीक्षा गरेका छौं। आगामी दिनका लागि थप छलफल हुनेछ। संयुक्त सरकारमा हाम्रो भूमिका देखिँदैन।’
दल विभाजन भइनसकेको अवस्थामा सरकार निर्माणमा आफ्नो भूमिकाको अर्थ नहुने उनले बताए। ‘दल विभाजित भएको छैन। अलग दल होइन। संयुक्त सरकार निर्माणमा हाम्रो केही भूमिका हुँदैन।’
राजीनामा दिने विषयलाई कहिल्यै प्राथमिकतामा नराखिएको उनको भनाइ थियो। पहिले पनि निर्क्योल भन्दापनि त्यसलाई छलफलको एउटा एजेन्डा बनाइएको उनको दाबी छ।
नयाँ सरकार निर्माणमा राजीनामा दिएर भूमिका खेल्ने पक्षमा आफूहरु नरहेको उनले जानकारी दिए। उनले भने, ‘हामी सरकारमा जान सक्दैनौं। सरकारमा नजाने भएपछि किन सरकार बनाउन पहल गर्नुपर्यो ?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।