काठमाडौं- संसद्को चौथो शक्तिको रूपमा रहेको जनता समाजवादी पार्टी (जसपा) सत्ता समीकरणका लागि निर्णायक ठाउँमा पुगेको छ। सिंगो जसपाले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लाई सघाएमा संयुक्त सरकार बन्ने ढोका खोल्ने देखिन्छ। तर, जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादवपक्षका सांसदले मात्रै सघाएमा संयुक्त सरकार बन्ने सम्भावना कम हुँदै जाने देखिएको छ।
आजका दिनसम्म जसपामा प्रष्ट दुई धार कायमै छ। जसपाको एउटा पक्ष विगतदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको बहिगर्मनको पक्षमा थियो भने अर्को पक्ष ओलीसँग निकट थियो। जसको असर सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले पेश गरेको विश्वासको मत लिने प्रस्तावको मतदानमा पनि देखियो।
जसपामा महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष तथा बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षबीच तीब्र ध्रुविकरण छ। महन्थ र राजेन्द्रपक्ष संयुक्त सरकार बनाउने भन्दा ओली सरकारलाई निरन्तरता दिएर चुनावमा जानुपर्ने पक्षमा देखिएका छन्। संयुक्त सरकार बन्न गणित नपुग्ने भन्दै त्यस्तो अवस्थामा बरु तटस्थ बसेर पार्टी जोगाउन लाग्नुपर्ने उनीहरूको मत छ। सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावमा पनि उनीहरू तटस्थ नै बसे। जबकी, बाबुराम-उपेन्द्र पक्षले विपक्षमा मतदान गरेका थिए।
बाबुराम–उपेन्द्र पक्ष ओली सरकारको बहिगर्मनका लागि सयुंक्त सकार बनाएरै छाड्ने ध्याउन्नमा लागेका छन्। ओली नेतृत्वको सरकारलाई जोगाए संविधान र लोकतन्त्र थप धरापममा पर्ने भन्दै उनकाविरुद्ध बहुमत जुटाएर संयुक्त सरकार बनाउन दौडधुपमा उनीहरू छन्।
संयुक्त सरकारको विषयलाई लिएर जसपाका वरिष्ठ नेता महतोले उपेन्द्र यादवलाई पार्टी फुटाउन खोजेको आरोप समेत लगाइसकेका छन्। ‘अब उपेन्द्र यादवमाथि कारबाही हुन्छ। पार्टी फोडुवामाथि कारबाही गर्छौ। पार्टी फोडुवालाई छोड्न हुँदैन’ नेपाल लाइभसँग कुरा गर्दै महतोले भने, ‘पार्टी फोड्नलाई एकता गरेको होइन। यो कुरा उपेन्द्रजीले बुझ्न पर्छ। कुनै कार्यकर्ता पार्टी फुटाउन तयार छैन।’ पार्टीमा आफ्नो पक्षको बहुमत भएको दाबी गर्दै महतोले उपेन्द्र यादवमाथि कारबाही हुने दाबी गरे।
जसपामा विवाद बढ्दै गएमा अल्पमत, बहुमतका आधारमा निर्णय हुने देखिएको छ। र, त्यो अवस्थामा बाबुराम-उपेन्द्र पक्ष हावी हुने देखिन्छ। महन्थ-राजेन्द्र पक्षले बाहिर चाहिँ आफूहरु बलियो रहेको बताइरहेका र उपेन्द्रलगायतलाई कारवाही गर्ने चेतावनी दिइरहेका भए पनि यथार्थ भने त्यस्तो नरहेको महन्थ-राजेन्द्र पक्षकै एक नेताले बताए। बाबुराम-उपेन्द्र पक्षले महन्थ-राजेन्द्र पक्षलाई कारबाही गरेर संयुक्त सरकार बनाउन सक्ने समेत उनले बताए। ‘पदाधिकारी, कार्यकारणी समिति, केन्द्रीय समितिमा बाबुराम–उपेन्द्र पक्षको बहुमत छ। त्यसो भएमा महन्थ–राजेन्द्र पक्षलाई कारबाही गर्न सक्नुहुन्छ’, ती नेताले भने, ‘त्यसो भएमा संसद्मा समेत बाबुराम–उपेन्द्रले बहुमत पुर्याएर सरकार बनाउन सक्नु हुन्छ। मैले त्यो सम्भावना देखेको छु।’
बहुमतले निर्णय गर्न र निर्णय नमान्नेलाई कारबाही गर्न बाबुराम–उपेन्द्र पक्षलाई पार्टी कमिटीमा 'कम्फर्ट' देखिएको छ। जसपाको ५ पदाधिकारीमा बाबुराम–उपेन्द्र पक्षका ३ जना छन्। गत वैशाख १४ गतेको कार्यकारिणी समिति बैठकमा ५१ जनामध्ये २७ जना बाबुराम-उपेन्द्रको पक्षमा थिए। त्यो संख्या उनीहरूले ३० भन्दा धेरै पुर्याउने दाबीसमेत गरेका छन्।
जसपामा कार्यकारिणी समितिलाई नै विधानले अधिकार सम्पन्न बनाएकाले त्यहाँको बहुमतले आवश्यक निर्णय गरेर कारबाही गर्न सक्ने अधिकार दिएको छ। जसपाको ८ सय १ सदस्यीय केन्द्रीय समितिमा समेत बाबुराम-उपेन्द्र पक्षकै बहुमत छ। तर, त्यसमा भएको बहुमतले खासै अर्थ राख्दैन।
सोमबार ओलीले विश्वासको मत लिनेक्रममा महन्थ-राजेन्द्र पक्षका १५ सांसद र बाबुराम–उपेन्द्र पक्षका १५ जना सांसद खुलेका थिए। त्यो संख्या अनुसार गत वैशाख १४ गतेको कार्यकारिणी समितिको बैठकमा दाबी गरिएको भन्दा २ जना सांसद बाबुराम-उपेन्द्रका घटेका छन्। तर, गत वैशाख २२ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटमा यादवले आफ्नो पक्षबाट २५ सांसद पुर्याउने दाबी गरेका थिए।
बाबुराम-उपेन्द्रले आफ्नो पक्षमा सांसद संख्या जति छिटो पुर्याउन सक्छन् त्यति छिटो संयुक्त सरकारको ढोका खुल्ने देखिएको छ। यदि बाबुराम–उपेन्द्र पक्षले १६ भन्दा बढी सांसद संख्या बढाउन नसकेमा संयुक्त सरकार बनाउन जसपाबाट सम्भावना टर्ने छ।
त्यसपछि गणित पुर्याउन एमालेको नेपाल पक्षमा भर पर्नु पर्नेछ। त्यसका लागि नेपाल पक्षका सांसदले राजीनामा दिएर सांसद संख्या घटाएर संयुक्त सरकार बन्न सहज गर्नुपर्ने हुन्छ। जसमा नेपाल पक्षका २० जना सांसद तयार हुनुपर्ने छ। त्यसो भएमा संयुक्त सरकार बन्न सजिलो हुने छ। तर, त्यसका लागि त्याग गर्न नेपाल पक्षका सांसद तयार हुन्छन्/हुँदैनन् भन्ने प्रष्ट भइसकेको छैन।
सम्बन्धित समाचार :
प्रचण्ड र देउवासँग मिलेर पार्टी फुटाउन लागे, अब उपेन्द्र यादवमाथि कारबाही हुन्छ : राजेन्द्र महतो
नयाँ सरकारको निर्णायक शक्ति जसपाको महन्थ–राजेन्द्र पक्ष
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।