काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएन। तर, उपस्थित ३० मध्ये १५ जना सांसद तटस्थ बसे। जसपाभित्र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव सरकार बनाउन सघाउने पक्षमा छन्।
यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संयुक्त हस्ताक्षर गरेर नयाँ सरकारको प्रक्रियाका लागि वक्तव्य जारी गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधानको धारा ७६ को (२) अनुसार दुई वा दुई बढी दलको गठबन्धन सरकार निर्माणका लागि प्रक्रिया थाल्न आग्रह उनीहरुले गरेका छन्।
तर, अविश्वास प्रस्तावमा तटस्थ बसेका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले भने सरकार बनाउने विषयमा छलफल नै नभएको बताएको छ। उक्त पक्षका नेता शरतसिंह भण्डारीले विश्वासको मत नदिने विषयमा मात्रै सहमति भएको बताए।
उनले भने, ‘कांग्रेस र माओवादीसँग मिलेर सरकार बनाउने विषयमा सल्लाह भएको छैन। हिजोचाहिँ विश्वासको मत नदिने विषयमा मात्रै सल्लाह भएको हो।’
विपक्षमा जानु र मत नदिनु दुवै एउटै भएको बताउँदै आगामी सरकारमा सहभागीताका विषयमा छलफल जरुरी रहेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।