काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पदबाट राजीनामा दिन तयार रहेको बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले संसदले विश्वास छैन भनेमा मार्गप्रशस्त हुने बताए। 'संसदले विश्वास छैन भनेमा मार्गप्रशस्त हुन्छ, जालझेल तिकडमका लागि होइन, त्यसैले संसदमा आएको छु,' ओलीले भने।
आफूले स्थायीत्वका लागि विश्वासको मत मागेको जिकिर गरेका प्रधानमन्त्री ओलीले संसद बैठकमा उपस्थित नभएकोप्रति आफ्नै दलका वरिष्ठ नेतासहितका सांसदहरुप्रति आक्रोश व्यक्त गरे।
'किन र कसका लागि उहाँहरु अनुपस्थित हुनु भयो म जान्दछु,' उनले भने, 'विघटन नर्गनका लागि विश्वासको मत दिनुस्।’
माओवादीले सरकारलाई दिएको सर्मथन फिर्ता लिन अढाई महिना पर्खेको ओलीको भनाइ थियो। बहुमत हुँदाहुँदै कसरी राजिनामा दिने भनेर आफूले अढाई महिना अविश्वासको प्रस्ताव पर्खेर बसेको पनि ओलीको भनाइ थियो।
'सधैं विरोध मात्र चलेको छ। काठमाडौमा शिवपुरदेखि उत्तरदेखि दक्षिणको हात्तिवनसम्म विरोधमात्र चलेको छ। दौडधुप चलेको छ,' उनले भने, 'सभा गरेको भनि आलोचना गर्नुभयो, यो सभा मैले अलि पछि थालेको हो। मैले यहाँ मान्छे हेर्न आउँ भनेर चुनौती दिएपछि देखाइदिएको हो।’
'इनफ् इज इनफ्' भनेर आफूले विश्वासको मत लिएको ओलीको भनाइ थियो। संविधान अनुसारको स्थायित्व र स्थीरताको पक्षमा अगाडि वढ्न आफू तयार रहेको ओलीले बताए। आफूले विकल्प सदनमा ल्याएको, तर कसैले धन्यवाद नभनेको पनि ओलीले टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।