काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको चिन्ता गर्नेहरुलाई आफूलाई मत दिन आग्रह गरेका छन्। सोमबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रस्तुत गरेको प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले उक्त आग्रह गरेका हुन्।
'संसद् विघटन फेरि होला कि भन्ने चिन्ता छ। ए बाबा, मत दिनुस् न, कसरी विघटन हुन्छ। आफैं मत नदिई नदिइकन विघटनतिर थकेल्ने। आफैं विघटनतिर धकेल्ने अनि अर्कालाई अबजस लगाउने। भीरको टाउँबाट उँधोतिर हाम फाल्ने अनि गुरुत्वाकर्षणलाई दोष लगाउने। हाम नफालौं, मत दिऔं,' उनले भने।
उनले मुद्दा लडेर फिर्ता ल्याएको संसद् बचाउनका लागि आफूलाई भोट दिन आग्रह गरे।
संविधान सुरक्षित रहेको बताउँदै उनले उनले आवश्यक संशोधन गर्दा संविधान नमिचिने दाबी गरे। ‘आवश्यक संशोधन गर्दा संविधान सुरक्षित हुन्छ,’ उनले भने, ‘संविधान मिचिँदैन। त्यसको कार्यान्वयन गर्नुपर्छ।’
आफूले बोलेको कुरालाई गलत अर्थ लगाइएको ओलीले बताए। आफूले अर्कै प्रसंगमा दुई/चार वटा आँप झर्यो भनेकोमा त्यसलाई मरेका मान्छेहरुसँग जोडेर प्रचार गरेको उनको भनाइ थियो।
उनले संविधानमा सुधार गर्नुपर्छ भए गरौं, संशोधन गरौं भन्ने कुरा आफूले राखेको बताए। ‘म त्यति भनिरहनुपर्छ भन्ने ठान्दिनँ। तर मिथ्या राजनीति नगरौं,’ उनले भनाइ थियो।
उनले विभेद थियो भने त्यसलाई घटाउँदै जानुपर्ने बताए। सरकार विभेद अन्त्य गर्ने दिशातिर लागेको उनले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।