काठमाडौं– संविधानको धारा ७६ (२) को अनुसार सरकार बनाउने प्रक्रिया अघि बढाउनु पर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समर्थन गरेका छन्।
सोमवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै प्रचण्डले देउवाको प्रस्तावमा समर्थन गरेका हुन्।
‘प्रधानमन्त्री के.पी. शर्मा ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष राखेको प्रस्ताव पारित नहुने भएको हुँदा नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम अर्को सरकार गठनका लागि प्रक्रिया अगाडि बढाउन समेत आव्हान गर्दछु’ देउवाले छलफलमा भाग लिँदै भएका थिए। प्रचण्डले देउवाको उक्त प्रस्तावमा समर्थन रहेको बताए।
संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।