काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कांग्रेससँग आफूहरु निरन्तर संवादमा रहेको र आन्तरिक छलफल समझदारीतर्फ उन्मुख रहेको संकेत गरेका छन्।
मंगलबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि श्रेष्ठले सञ्चारकर्मीहरुसँग संसद्मा रहेका दलहरुसँगको समझदारीकै आधारमा आफूहरुले कदम चालिरहेको बताए।
‘कांग्रेसले के भनेको छ भन्ने कुरा त हामीलाई थाहा छ। उसले बाहिर सार्वजनिक खपतका लागि के-के भन्छ भन्ने कुरा छाड्दिनुस्। जसपा र संसद्मा रहेका अरु जोजो साथीहरु हुनुहुन्छ। समझदारीकै आधारमा हामी कदम चालिरहेका छौं,’ उनले भने।
श्रेष्ठले सबै मिलेर अविश्वासको प्रस्ताव राख्ने बताए। ‘हामी यो सरकारलाई हटाएर अर्को सरकार बनाउन चाहन्छौं। यो नेपाली जनतालाई मात्रै होइन। सबैलाई थाहा छ,’ उनले भने।
उनले सरकारलाई आफूहरुको समर्थन नरहेको प्रष्ट पारे। ‘यो सरकारलाई हाम्रो समर्थन छैन। खालि यो सरकारलाई हामीले कसरी औपचारिक रुपमा नरहेको कुरा लेखेर दिने भन्ने मात्रै बाँकी छ,’ उनले भने।
श्रेष्ठले यो सरकारलाई विस्थापित गरेर वैधानिक रुपले अर्को सरकार बनाउने प्रक्रियाको पहलकदमी र नेतृत्व गरिरहेको आफूहरुको पार्टीले सरकारको समर्थनलाई कुनैपनि कोणबाट अगाडि बढाउन नसक्ने बताए। तर, देशमा राजनीतिक अन्यौलको स्थिति सिर्जना नहोस् भनेर आफूहरु सचेत रहेको श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।