काठमाडौं- नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ दिने निर्णय गरेको छ। मंगलबार नयाँ बानेश्वरको अर्याल होटलमा बसेको सो पक्षको अनौपचारिक भेलाले स्पष्टीकरणको जवाफ दिने निर्णय गरेको हो।
ओलीले पठाएको स्पष्टीकरण पत्रमा नेपाल पक्षका नेताहरुले बेग्लै पार्टीको अभ्यास गरेको र पार्टी नै बेग्लै बनाएर अघि बढिरहेको आरोप लगाइएको छ। व्यक्तिगत रुपमा स्पष्टीकरण सोधिएकाले सोहीअनुसार जवाफ दिने ठहर नेपाल पक्षले गरेको हो। सो पक्षले स्पष्टीकरणको जवाफ दिनुलाई कानुनी प्रतिरक्षाको रुपमा व्याख्या गरेको छ। 'कानुनी प्रतिरक्षा र राजनीतिक लडाइँ पनि लडिरहने निष्कर्षमा पुग्यौं,' एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले भनिन्।
जवाफमा आफूहरुले दल नबदलेको र अर्को दल पनि नखोलेको प्रस्ट पार्ने बताइएको छ। 'हामीले एमालेलाई विधिमा चलाउनुपर्छ भनेर आवाज उठाएका हौं। लोकतन्त्रमा त्यस्तो आवाज उठाउन पाइन्छ,' उनले भनिन्।
मंगलबार मात्रै ओलीले प्रतिनिधि सभाका २७ र कर्णाली प्रदेशका पाँच जना सदस्यलाई स्पष्टीकरण सोधेका छन्। उनले कसैलाई दुई दिन र कसैलाई तीन दिनभित्र जवाफ दिन भनेका छन्।
भेलामा केपी ओली अलोकतान्त्रिक र पञ्चायती शैलीमा अघि बढिरहेको निष्कर्ष पनि निकालिएको छ।
स्पष्टीकरणको जवाफपछि ओलीले थप कारबाही गरे अदालत जानुपर्ने स्थिति आउने पनि निष्कर्ष निकालिएको छ।
यो अनौपचारिक भेलाले स्पष्टीकरण दिने निर्णय गरेको छ। किनभने, व्यक्तिगत रुपमा उत्तर दिने। सोधिए अनुसार दल बदलेको पनि छैन। अर्को पार्टी खोलेको पनि छैन। त्यही एमालेको विधिअनुसार चल्नुपर्छ भन्ने आवाज उठाएको हो। लोकतन्त्रमा त्यो पाइन्छ। केपी ओली पञ्चायती शैली जान खोजे। त्यसैले कानुनी प्रतिरक्षा र राजनीतिक लडाइँ पनि लडिरहने।
यो पक्षले फागुन २८ गते ओली पक्षले गरेको निर्णय खारेज गरेर पार्टीलाई २०७५ जेठ २ को स्थितिमा फर्काउनुपर्ने पनि बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।