काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई अन्तिम स्पष्टीकरण सोधेका छन्। उनलाई दुई दिनभित्र जवाफ दिन भनिएको छ।
माधव नेपाललाई कर्णालीमा 'फ्लोर क्रस' गर्न किन निर्देशन दिएको भनी स्पष्टीकरण सोधिएको छ। 'तपाईंले कर्णाली प्रदेश सभामा प्रदेश सभाका सदस्यहरूलाई उचाल्दै भट्काउँदै अनुशासनहीन अराजक एवं पार्टी विरोधी क्रियाकलाप गर्न दुरुत्साहन गर्ने फ्लोर क्रस गरी पार्टीको ह्विप उल्लंघन गर्दै मतदान गर्न निर्देशन दिनेजस्ता अनुशासनहीन र आपराधिक कार्य समेत गरे/गराएकोले तपाईंलाई यसरी पार्टी वा पार्टीको संसदीय दल परित्याग गरिएता पनि दल त्याग गरेको किन नभन्ने?', स्पष्टीकरणमा भनिएको छ।
नेपाललाई पार्टी तथा आफ्नो सरकारका विरुद्धमा विभिन्न अवाञ्छित क्रियाकलाप निरन्तर गरिरहेको, घोषित रूपमा नयाँ राजनैतिक दलको स्वरूपमा गतिविधि गरी पार्टीको निर्णय, नीति, नेतृत्वविरुद्ध शत्रुवत् ढंगले प्रस्तुत गरी दुस्प्रचार र भ्रम फिजाउने कार्य किन गर्नुभएको हो? भनी सोधिएको छ।
'तपाईंले अर्को राजनीतिक दल गठन गर्न नेतृत्व गरी अभियान सञ्चालन गरी गराई हिँड्नुभएको अवस्थामा पार्टीबाट निलम्बन गरी सकिएको अवस्थामा पुनः सोही क्रियाकलाप किन दोहोर्याउनुभएको हो?', नेपाललाई सोधिएको स्पष्टीकरणमा उल्लेख छ।
नेता नेपाललाई सच्चिनको लागि अन्तिम मौका दिइएको पत्रमा उल्लेख छ।
माधव नेपाललाई यसअघि पनि स्पष्टीकरण सोधिएको थियो। तर, चित्तबुझ्दो जवाफ नभएको भन्दै ६ महिनाको लागि निलम्बन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।