काठमाडौं- नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बसिरहेको छ। माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक चलिरहेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले बताए।
बैठकमा कर्णाली विद्रोहसँगै अरु प्रदेशमा निम्तिएको समस्या तथा संघीय सरकारमा सत्ता समीकरणलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
प्रदेश सरकारमा माओवादी र कांग्रेसबीच सहकार्यको शुरु भएको छ। यसैअन्तर्गत कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा कांग्रेसले विश्वासको मत दिएको छ। एमालेको माधवकुमार नेपाल पक्षका सांसदले फ्लोर क्रस गरेपछि माओवादी नेता शाहीको सत्ता जोगिएको छ।
कांग्रेस–माओवादी र जसपाले गण्डकी र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध विश्वास प्रस्ताव दर्ता गराएका छन्। तर, लुम्बिनीमा भने अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका तीन सांसद सोमबार नै मन्त्री बनेका छन्।
केन्द्रमा समेत प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध माओवादीले कांग्रेससँग मिलेर मोर्चाबन्दी गरिरहेको छ। तर, जसपाले निर्णय नगर्दा अविश्वासको प्रस्ताव अघि बढ्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।