काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन मिति एक महिना पछि सरेको छ। स्थानीय तहस्तरीय समितिहरुको अधिवेशन गर्न समय नपुगेको भन्दै राप्रपाले केन्द्रीय महाधिवेशन एक महिना पछि सार्ने निर्णय गरेको हो।
राप्रपाले पार्टीको सक्रिय सदस्यता वितरण गर्न समेत समय लाग्ने जनाएको छ। नेता मोहन श्रेष्ठका अनुसार केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले जेठ २२ देखि २५ गतेसम्म महाधिवेशन निर्णय गरेको छ।
राप्रपाले यसअघि २५-२८ वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। राप्रपा केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले वैशाख मसान्तसम्म सक्रिय सदस्यता वितरण सक्ने निर्णय गरेको छ।
यस्तै, वडा, पालिका र जिल्ला अधिबेशन वैशाख मसान्तसम्म सक्ने निर्णय भएको नेता श्रेष्ठले जानकारी दिए । प्रदेश अधिवेशन ७ जेठसम्म र महाधिवेशन प्रतिनिधिको निर्वाचन १० जेठसम्म गर्ने राप्रपाले निर्णय गरेको छ।
राप्रपाले यसपटक सक्रिय सदस्यताका आधारमा महाधिवेशन प्रतिनिधि चयन गर्दैछ। यसअघि भने कमिटीको आधारमा प्रतिनिधि चयन हुँदै आएको थियो। नयाँ प्रक्रियाअनुसार महाधिवेशन प्रतिनिधि चार हजार पाँच सय बढी हुने राप्रपाको अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।