काठमाडौं- नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग एकताको सम्भावना कायमै रहेको बताएका छन्। सर्वोच्च अदालतको फैसलाले एमाले-माओवादी ब्युँताएपनि भावनात्मक रूपमा नजिक भएकाले फेरि एकताको सम्भावना कायमै रहेको पौडेलको भनाइ छ।
एमाले र माओवादी नेताहरू आ-आफ्नै पार्टीमा बसेर एकताको सम्भावना नहुने बताउँदै पौडेलले पुरानो पार्टीलाई बिर्सेर नयाँ सिराबाट एकता खोजिनु पर्ने बताए। ‘एमाले-माओवादी पार्टीमा रहने हो भने कहिल्यै एकता हुँदैन। सबैले पुरानो पार्टी छोड्न तयार हुनुपर्यो। नयाँ नाम, विचार, सिद्धान्त र उद्देश्य लिन तयार हुनुपर्यो। त्यसो हुँदा फेरि एकता हुन सक्छ’, पौडेलले नेपाल लाइभसँग भने।
तत्कालीन नेकपाका पुष्पकल दाहाल 'प्रचण्ड'–माधव पक्ष एउटै पार्टीमा बस्न खोजेपनि अदालतले छुट्टाछुट्टै बनाएको पौडेलले बताए। ‘हिजो नेकपामा हुँदा एउटै पार्टीमा थियौं। सर्वोच्च अदालतको फैसलाले छुट्टै पार्टीमा बस्नुपर्ने बाध्यता बनायो। एउटै पार्टीमा बस्ने मनसाय हुँदाहुँदै अदालतले छुट्याइदियो। नमानौं अदालतको निर्णय, मानौं अदालतको फैसला चित्त बुझ्या छैन’, उनले भने।
'अन्त्यमा अदालतको निर्णयलाई मान्न बाध्य भइयो’, पौडेलले भने, ‘अब माधव नेपाल पक्षमात्रै नभएर सबै प्रगतिशील वामपन्थी शक्तिहरूको बृहत एकता हुने सम्भावना कायमै छ।’
नेकपा विवादमा अदालतले श्रीमान-श्रीमतीबाट बच्चाबच्ची भइसक्दा पनि विवाह नै भएको छैन भन्ने जस्तो गरेर फैसला गरेको पौडेलले टिप्पणी गरे। ‘अदालतले विवाह भइसकेका श्रीमान-श्रीमतीबाट बच्चाबच्ची भयो, दुई बच्चाबच्ची छन्, फेरि छुट्टाछुट्टै बस। तिमीहरूको विवाह नै भएको छैन भनिदियो। श्रीमान-श्रीमती छुट्टिएपनि माया कायमै हुन्छ। छोराछोरी छन्। उनीहरूप्रतिको जिम्मेवारी कायमै हुन्छ। अहिलेको एकता पनि त्यस्तै हो’, पौडेलले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।