काठमाडौं- नेपाली नयाँ वर्षको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार देशवासीका नाममा सम्बोधन गरे। प्रधानमन्त्री ओलीको सम्बोधन देशवासीका नाममा 'गुनासो' बन्न पुग्यो।
प्रधानमन्त्री ओलीले कोभिड महामारीको कारण अस्वस्थ बनेको जनजीवनका साथै 'अस्वस्थ' राजनीतिक गतिविधीका बीच पनि आफूले उलेख्य काम गरेको विवरण प्रस्तुत गरे। तर, हरेक प्रसंगमा गुनासो जोडिएर आउँथ्यो। उनले शुरुमै भने, 'कोभिड महामारी भएपनि राजनीतिक अस्वस्थता देखा परेपनि २०७७ साल निर्थक रहेन। उपलब्धिमूलक नै भयो।'
काम गर्दागर्दै जनता भड्काएको गुनासो
प्रधानमन्त्री ओलीले सरकारले २०७७ सालमा जनतामा आशा जगाउने गरी काम गरेको दाबी प्रस्तुत गरे। प्रधानमन्त्री ओलीको भनाइ थियो, 'प्रतिदिन साढे पाँच किलोमिटर बाटो बनेको छ, एक दिनमा कम्तीमा १२ वटाका दरले आवासहरू तयार भएका छन्, विभिन्न ८ प्रकारका सामाजिक सुरक्षा भत्ता पाउनेको सङ्ख्या ३० लाख ६० हजारभन्दा बढी छ।'
महिनाको एक सय रूपैयाँबाट शुरु भएको सामाजिक सुरक्षा भत्ता दैनिक सय रूपैयाँ पुगेको बताउँदै आगामी बजेटबाट थप वृद्धि गरिने आश्वासन दिएका छन्।
निर्माण कार्य देशभरि नै तीव्र रहेको उल्लेख गरे। पुलपुलेसा, सडक र राजमार्ग विस्तार र स्तरोन्नतिको काम भइरहेको बताए। प्रधानमन्त्री ओलीले नाकाहरू खोल्नुका साथै मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्गको काम भइरहेको जानकारी दिए।
विभिन्न ठाउँमा सभागृह बनाइएको र लुम्बिनीमा ५ हजार क्षमताको सभाहल र ध्यान केन्द्र निर्माण गरिएको विषयमा जोड दिए। यस्तो फेहरिस्त प्रस्तुत गरिसकेपछि उनको गुनासो थियो, 'हामीले आशा जगाउने काम गर्यौं तर, जनतालाई भड्काउने र निराश बनाउने काम भइरहे।'
पुनःनिर्माण गर्दा प्रचार गरेको आरोप
पुनःनिर्माणको कामलाई सरकारले महत्वका साथ अघि बढाएको सम्बोधनमा उल्लेख गरे। उनले रानीपोखरी, धरहरा र दरबार हाइस्कुल पुन:निर्माणको विषयलाई जोड दिए। उनले भने, 'धरहरा यही महिनाको ११ गते लिफ्टबाट बालबालिका र ज्येष्ठ नागरिकसमेत सुर्रर माथि जान सक्ने र कौशीबाट काठमाडौंको दृश्यवालोकन गर्न सकिने उपहारका रूपमा लोकार्पण गर्दैछौं।'
नयाँ हवाई मैदान निर्माण गरेको तथा चालुलाई स्तरोन्नति र व्यवस्थित गरेको उनले बताए। उनले उदाहरण दिँदै भने, 'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिले आएका विदेशीले भन्छन्- यहाँ झर्नेबित्तिकै नयाँपन अनुभूति हुन्छ। काठमाडौं पस्नेबित्तिकै नयाँपन अनुभूति हुन्छ।' यसैगरी पुन:निर्मित दरबार हाइस्कुल वैशाख ६ गते उद्घाटन गर्न लागेको ओलीले जानकारी गराए। अन्त्यमा फेरि गुनासो गरे, 'यी काम गर्दा कसैले प्रचार मात्रै भयो भने।'
मेलम्चीको पानी ल्याएको तर, गफ लगाएको गुनासो
प्रधानमन्त्री ओलीले धेरै वर्षदेखि काठमाडौंवासीले देखिरहेको मेलम्चीको सपना यथार्थमा परिणत गरिदिएको बताए। कतिपयले यसलाई पनि गफ मात्रै भएको भनिदिएको उनले गुनासो गरे। उनले भने, 'मेलम्चीको पानी काठमाडौंमा ल्याउने विषयमा कसैले गफ भने। मेलम्चीको सपना धाराधारा पुर्याएर पूरा गर्नु गफ मात्रै होइन। अहिले जस लिने होडबाजीमा लाग्न जरुरी छैन। देशका लागि गर्नुछ।'
देशलाई माथि उठाउन डिजिटल नेपालको अभियान शुरु गरेको र विभिन्न आयोजनाहरू सिंहदरबारबाट हेर्नसक्ने अवस्था सिर्जना गरिएको उनको भनाइ थियो। शिक्षालाई पनि निरन्तर कायम राख्न अनलाइन शिक्षामार्फत् अघि बढाउने र परीक्षा सञ्चालन गर्ने काम भएको उनले उल्लेख गरे। उनको दाबी थियो, 'मानव जीवनलाई प्राथमिक महत्वमा राखेर काम सञ्चालन गर्यौं । सही नीतिका कारण असफल भएनौं । सामाजिक र आर्थिक वृद्धिमा कम क्षति भयो।'
लकडाउनको हल्ला चलाएको गुनासो
प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरूमा कोभिडको महामारी बढी फैलिएको हुनाले लकडाउन गरिएको उल्लेख गरे। तर, आफू अहिलेकै अवस्थामा लकडाउन गर्ने पक्षमा नरहेको स्पष्ट पारे।
केही दिनअघि आफूले लकडाउनको अवस्थासम्म पुग्नपर्छ भनेर सचेत गराउँदा सरकारले लकडाउनकै तयारीमा रहेको जसरी हल्ला गरिएको उनको भनाइ थियो। उनले गुनासो गरे, 'आजै लकडाउन हुन्छ। भोलि नै लकडाउन हुन्छ भनेर हल्ला चलाएका छन्। हामी लकडाउनका पक्षामा छैनौं।'
कोरोना भाइरसको अर्को लहर फैलिएका कारण विश्वका धेरै देशले लकडाउन नै गर्नुपर्ने अवस्थाका आएकाले हामी अरु नै विधिबाट परिस्थितिलाई काबुमा ल्याउँ भनेको स्पष्ट पारे। उनले भने, 'मैले त्यस्तो अवस्था नआओस् भनेर सचेत हुनुपर्छ। परिस्थिति बिग्रियो भने त्यहाँ पनि पुग्नुपर्ने हुन सक्छ मात्रै भनेको हुँ।'
सरकारले २०७७ सालको जस्तो पीडा त्यहीरूपमा दोहोरिन नपाओस् भनेर काम गरिरहेको बताए। कोभिड-१९ को महामारीबाट सुरक्षित रहन सरकार र स्वास्थ्य मन्त्रालयका मापदण्ड पालना गर्न अनुरोधसमेत गरे।
एमसीसीमा अस्तुष्टि
प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीलाई संसद्मा निर्णयार्थ प्रस्तुत नगरेकोमा अस्तुष्टि जनाए। उनले नेपाली कांग्रेस र माओवादी सरकारमा हुँदा एमसीसी सम्झौता गरिएको भए पनि आफूहरूले निर्णयार्थ संसद्मा पेश नगरेको गुनासो सुनाए। ‘त्यो निर्णयार्थ हामीले संसद्मा टेबल गरेका छौं। तर, निर्णयार्थ पेश गरिएको छैन। हामी त्यसको माग गरिरहेका छौं’, उनले भने।
प्रधानमन्त्री ओलीले सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संवैधानिक अधिकार कसैसँग नहुने बताए। ‘गर्नैपर्छ, तर संविधान नै नमान्ने, जिद्दी गर्ने प्रवृत्ति हामी झेलिरहेका छौं,’ उनले भने।
मेरो कित्ता कार्यक्रम र थप केही योजना
प्रधानमन्त्री ओलीले नयाँ वर्षमा नयाँनयाँ कामहरू थालनी गरेको उल्लेख गरे। यही क्रममा किसानका लागि वैशा १ देखि नै मेरो कित्ता कार्यक्रम आभारम्भ हुने बताए। प्रविधिको माध्यमबाट किसानले आफ्नो पूर्जा घरबाटै एपमार्फत् हेर्नसक्ने जानकारी दिए। 'नयाँ उत्साह, नयाँ आत्मविश्वासका साथ नयाँ वर्षमा प्रवेश गरिरहेका छौं, हामीले थालेका अपूरा कामलाई पूरा गर्ने र देशलाई विकासको चरणमा छौं,' उनले भने।
यसैगरी, उनले हुम्लाको सिमीकोटमा पनि सडक पुर्याउने वाचा गरेका छन्। देश र जनताको सर्वोपरि हितलाई सरकारले उच्च प्राथमिकता दिएको प्रधानमन्त्रीले बताए। कोभिडबाट बच्न १८ लाख व्यक्तिले खोप लगाइसकेको र बाँकीलाई लगाउने चरणमा रहेको उल्लेख गर्दै कोरोनाबाट नागरिकलाई जोगाउन आफू लागिपरेका प्रधानमन्त्रीको दाबी छ।
'नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो कर्तव्य हो, सरकारका लागि जनताको जीवन पहिलो हो,' प्रधानमन्त्री ओली भने, 'जनताको जीवन बचाउन सकियो भने शिक्षालयहरू चल्नेछन्, अर्थतन्त्रभन्दा पनि जीवन पहिलो हो, उद्योग कलकारखाना चल्ने छन् तर नागरिकको जीवन रहेन भने कुनै पनि कुरा चल्न सक्दैन।'
प्रधानमन्त्री ओलीले नागरिक सुरक्षालाई प्राथमिक महत्वमा राखरे काम गरिरहेको र महामारीका कारण तुलनात्मक रूपमा असर परे पनि कम क्षति भएको बताए। यही वर्ष हिंसात्मक राजनीतिमा सक्रियलाई शान्तिपूर्ण र मूलधारको राजनीतिमा ल्याएको पनि उनले स्मरण गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।