काठमाडाैं–पुनः कोभिड–१९ को प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरी सुरक्षितरूपमा नयाँ वर्ष मनाउन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेका छन्।
नयाँ वषको अवसरमा शुभकामना व्यक्त गर्दै उनले अनिवार्यरूपमा स्वास्थ्य मापदण्डपालना गर्न आग्रह गरेका हुन्। साथै सभापति देउवाले भौतिक दूरी कायम गर्ने, भीडभाडयुक्त सार्वजनिक चियापान, भोजभतेरलगायत कार्यक्रम नगरी सुरक्षितरुपमा नयाँ वर्ष मनाउन आग्रह गरेका छन्।
कोभिड–१९ ले आम नागरिकको दैनिक जीवनमा ठूलो असर पु¥याउनुका साथै उद्योग, व्यापार, विद्यालयलगायत धेरै क्षेत्र नराम्रोसँग प्रभावित भएको र कांग्रेसले जिम्मेवार प्रतिपक्षी दलका रुपमा चुनौतीलाई सामना गर्न सरकारलाई सम्पूर्णरुपले सहयोग गरेको उनले बताएका छन्।
सरकारले महामारी रोकथाम र नियन्त्रणमा प्रभावकारी रुपमा काम गर्न नसकेको आरपसमेत उनको छ। नेपाली जनताले लकडाउनको पालना गर्दै भौतिक दूरी कायम गरेर उच्च सतर्कता अपनाएर अत्यन्त संयम र एकताका साथ कोभिडविरुद्ध लडिरहेको विज्ञप्तिमा उल्लेख छ।
सभापति देउवाले आमनेपाली नागरिकको लामो त्याग, तपस्या र बलिदानबाट प्राप्त नेपालको संविधानको कार्यान्वयन र संरक्षणका लागि सबै राजनीतिक दलबीच हार्दिक एकता कायम गर्दै लोकतन्त्रमा आधारित समतामूलक र समृद्ध नेपाल निर्माणमा अगाडि बढ्न सबैका लागि नयाँ वर्ष प्रेरणादायी बन्न सकोस् भन्ने कामना गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।