काठमाडौं–नयाँ वर्षसँगै राजनीतिक दलबीच नयाँ समन्वय र समझदारी कायम हुने अपेक्षा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले गरेका छन्। नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश दिँदै सभामुख सापकोटाले भनेका छन्, ‘सकारात्मक परिवर्तनका लागि आपसी सहकार्य र सहमतिले मात्र मुलुकलाई अगाडि बढाउन सहज हुने विश्वास लिएको छु।’
अग्रगामी निकासका लागि दृढ संकल्प आवश्यक रहेको भन्दै उनले गरिएका प्रतिबद्धता व्यवहारमा देखिए मात्रै विश्वासको आधारशिला तयार हुने बताएका छन्।
संसद्लाई जीवन्त र जनमुखी बनाउन सङ्घीय संसद्को नेतृत्वको हैसियतले सबैखाले पहल र प्रयत्न गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन्। ‘हामीले मानव सभ्यता र अस्तित्वलाई नै चुनौती खडा हुने गरी फैलिएको कोभिड–१९ को महामारी, ठूला ठूला प्राकृतिक विपत्ति र संवैधानिक सङ्कट ब्योहोरेर विक्रम सम्वत् २०७७ साललाई बिदा गरेका छौैं,’ उनको सन्देशमा उल्लेख छ।
सङ्कट अझै टरेको छैन भन्दै सभामुखले गत वर्षभन्दा अझ बढी सजक र सतर्क भएर अघि बढ्नुपर्ने अवस्था रहेको स्पष्ट पारेका छन्। सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि अधिक पूर्वतयारी गर्नुपर्नेमा उनको जोड छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।