काठमाडाैं- नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार गरेको निर्णयबाट पछाडि हट्न चेतावनी दिएका छन्।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले सोमबार आफ्नो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीका सबै जिम्मेवारी र साधारण सदस्यबाट समेत ६ महीनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए। त्यससम्बन्धी पत्र पठाएर ओलीले यसको जानकारी गराएका थिए।
आफूले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै ओलीले यो निर्णय गरिएको उल्लेख गरेका थिए।
वरिष्ठ नेता नेपालनिकट रहेका भट्टराईले यो निर्णयको परिणाम उल्टो हुने चेतावनी दिएका छन्। 'कारवाही र सजाय कमजोर सत्ताको अन्तिम अस्त्र हो', भट्टराइले ट्वीटरमा लेखेका छन्, 'परिणाम उल्टो हुने निश्चित छ, फर्कनु नै कल्याण हुनेछ।'
पार्टीले सच्चिन दिएको समयमा पूराना गतिविधि कायम राखे बीचकै अवधिमा थप कारबाही गर्न सकिने गरी रावललाई निलम्बन गरिएको छ। यता, नेपाललाई दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारी तथा पार्टी सदस्यताबाटै हाललाई ६ (छ) महिनाको लागि निलम्बन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।