काठमाडौं- एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले कारवाहीलाई निरंकुश र स्वेच्छाचारी कुकृत्य संज्ञा दिएका छन्।
वरिष्ठ नेता माधवकुमार नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि उनले सामाजिक सञ्जाजमार्फत् कारवाही खारेजकाे मागसमेत गरेका छन्।
‘देशभक्तिपूर्ण आवाजबाट त्रसित बाह्य शक्तिप्रतिको तावेदारी हो। नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको उक्त निर्णयको भत्र्सना गर्दैै पूर्णरुपम अस्वीकार गर्दछु,’ उनले भनेका छन्।
यस्तो छ पूर्ण पाठ
केपी शर्मा ओलीले पहिलो चरणमा नेपालको संविधान तथा आफैँले हस्ताक्षर गरेको कम्युनिस्ट पार्टी बीचको एकतामाथि प्रहार गर्नुभयो, दोस्रो चरणमा नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित सिद्धान्त, नीति र विधानको खिल्ली उडाउँदै एवम् सर्वोच्च अदालतको फैसलाको अवहेलना गरी गत फागुन २८ गते गुटको भेलाबाट स्वेच्छाचारी निर्णय गराउनु भयो र तेस्रो चरणमा पार्टी विधान कुल्चदै कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको हाकिमको कुर्सीमा बसेर चारजना नेतहरूलाई कथित स्पष्टीकरण पत्र पठाई पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र मलाई पार्टीबाट निलम्बन गरेको आदेश फर्माउनु भयो।
यो पार्टी विधान र नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन विरुद्धको निरंकुश र स्वेच्छाचारी कुकृत्य हो। देशभक्तिपूर्ण आवाजबाट त्रसित वाह्य शक्तिप्रतिको तावेदारी हो। नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको उक्त निर्णयको भर्त्सना गर्दै पूर्णरूपमा अस्वीकार गर्दछु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।