काठमाडाैं- पार्टीले सच्चिन दिएको समयमा पूराना गतिविधि कायम राखे बीचकै अवधिमा थप कारबाही गर्न सकिने गरी एमाले नेता भीम रावललाई निलम्बन गरिएको छ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पत्र लेख्दै ‘आफ्ना विचार र क्रियाकलापहरु सच्याइ पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने’ उल्लेख गरेका छन्। पार्टीले सोधेको स्पष्टीकरणमा आफ्ना त्रुटि अस्वीकार गरेको जनाइएको छ।
रावलले आत्मसमीक्षा र आत्मआलोचना नगरेको ओलीले लेखेको पत्रमा उल्लेख छ। आफ्नो स्वार्थको लागि देश, जनता र पार्टीको हितलाई जस्तोसुकै क्षति पुर्याउन तयार भएको आरोप लगाइएको छ।
रावललाई पठाइएको पत्रको पूर्ण अंश:
विषयः निलम्बन गरिएको सम्बन्धमा।
श्री भीमबहादुर रावल, सदस्य, दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी,
नेपाल कम्युनिस्ट पार्टी (एमाले)।
तपाईं, भीमबहादुर रावललाई मिति २०७७/१२/०८ मा पार्टीको तर्फबाट स्पष्टीकरण माग गरिएकोमा तपाईंले मिति २०७७/१२/१२ मा पार्टीमा पेस गर्नुभएको स्पष्टीकरणको जवाफमा देहायबमोजिम देखियोः
१) तपाईंले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला गर्ने, उक्त कार्यलाई निरन्तरता दिने स्वीकारोक्तिसहित अहंकार र आत्मकेन्द्रित कुराहरु उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो।
२) स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भूलत्रुटिको स्वीकारोक्ति नगरेको, कुनै आत्मसमीइक्षा नगरिएको, आत्मआलोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहंकार आत्मकेन्द्रित र स्वार्थी प्रवृत्ति प्रस्टरुपमा देखियो। आफ्नो स्वार्थका लागि देश, जनता र पार्टीको हितलाई जस्तोसुकै क्षति पुर्याउन तयार भएको आपराधिक मनोवृत्ति प्रस्ट रुपमा थप पुष्टि भएको।
३) आपराधिक क्रियाकलापहरु स्वीकार्ने, भूलसुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतिको लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरिएका गलत तथा आपराधिक क्रियाकलापहरु प्रति प्रायश्चित गर्ने अवसरलाई त्यसै गम्भीरताका साथ लिनुको साटो तपाईंले उल्टै स्पष्टीकरण सोध्नेजस्तो अनधिकृत र हास्यास्पद कार्य गरेको देखियो।
४) तपाईंले अहिले पनि पार्टीविरोधी फाटोवादी र गुटगत क्रियाकलापहरु नेकपा एमालेकै नाममा गरिरहेको र त्यसलाई आगामी दिनहरुमासमेत निरन्तरता दिइरहनेतर्फ अग्रसरता देखिएको, पार्टीकै लागि एकताकै लागि भन्दै भ्रम फिजाएर कार्यकर्ता फसाउने र आफ्नागलत उद्देश्य तथा मनासायका निम्ति दुरुपयोग गर्ने सम्भावना देखिएको।
५) यस्तै गतिविधिहरु कायम रहेमा तपाईंलाई जुनसुकै बेला पनि थप कडा कारबाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै, यस्ता पार्टीविरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारबाही गर्नुभन्दा हाललाई पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु तथा पार्टी सदस्यताबाटै पार्टीको विधान २०४९ (संशोधन २०७१ समेत) को धारा ४९ (ख) बमोजिम हाललाई ६ महिनाको लागि निलम्बन गरिएको छ।
तपाईंलाई सच्चिनको लागि यो अन्तिम मौका हो। आफ्ना विचार र क्रियाकलापहरु सच्याइ पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टीविरोधी गतिविधिहरु कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारबाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।