काठमाडौं- प्रतिनिधि सभालाई कामविहीन बनाएकोप्रति सांसदहरूले सरकारको आलोचना गरेका छन्। मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले आफैंले विघटन गरेको प्रतिनिधि सभामा कुन नैतिकताले प्रधानमन्त्री उपस्थित हुने भनेर प्रश्न गरे। अनि संसदलाई विधेयक नदिएर सरकारले बदला लिइरहेको टिप्पणी पनि गरे।
बजेट अधिवेशन चलिरहेको समयमा आकास्मिक रुपमा सरकारले असार १८ गते हठात् प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरेको थियो। ६ महिनाभित्र हिउँदे अधिवेशन बोलाउनुपर्ने समय नजिकै आएपछि पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विघटनको सिफारिस गरे। सर्वोच्चले यो निर्णय कानुनसम्मत नभएको भन्दै फागुन ११ गते पुनःस्थापना गर्ने फैसला सुनायो।
सर्वोच्चको फैसलापछि सरकारले फागुन २३ गते पहिलो बैठक बोलाएको थियो। हालसम्म पाँचौ बैठक बसेको छ। यी बैठकमा हालसम्म सरकारका तर्फबाट एउटा पनि विधेयक पेश भएको छैन। प्रतिनिधि सभाको हरेक बैठक शोक प्रस्ताव पारित गर्नेमा सीमित भएपछि मंगलबार सांसदहरूले शून्य समयमा सरकारको रवैयाको आलोचना गरेका हुन्।
जनताका मुद्दा उठाउनका लागि मुल कार्यसूचीमा प्रवेश गर्नुअघि संसद्मा शून्य र विशेष समयमा छलफल गर्ने गरिन्छ। सांसदहरूले सरकारलाई समसामयिक विषय र जनताका मुद्दाहरूमा जवाफ दिन ध्यानाकर्षण गराउने गर्दछन्। प्रतिनिधि सभा पुनःस्थापनापछिको यो पहिलो शून्य समयको छलफल हो।
छलफलमा बोल्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्सँग बदला लिइरहेको आरोप लगाए। उनी रहेसम्म संसद् बन्दी बनिरहने र यसको अपमान बढिरहने पनि उनको भनाइ थियो।
‘जति दिन यो सरकार रहन्छ, संसद्को तिरस्कार, अपमान र उपेक्षा गर्ने काम बढ्दै जान्छ’ थापाले भने, ‘किनकि, प्रधानमन्त्रीलाई यो संसद्सँग बदला लिनु छ।’ आफूले गरेको प्रतिनिधि सभा विघटन ठीक रहेको स्थापित गर्न उनले अनेक प्रपञ्च गरिरहेको थापाको भनाइ छ।
‘अहिले प्रतिनिधि सभा भंग गर्ने सनक सही थियो भन्ने स्थापित गर्न संसद्लाई कामविहीन बनाउने प्रपञ्च उहाँले गर्नुभएको छ’, थापाले भने।
आफू संसद्मा काम गर्न तयार रहेको तर, सरकारले काम नदिएको तथ्य उनले उजागर गरे। ‘एसिड आक्रमण गर्नेलाई सजाय दिन कानुन बनाउन दिइएन भनेर हल्ला गर्ने तर, संसद्लाई एउटा पनि विधेयक नदिने?’, थापाले प्रश्न गरे, ‘कानुन बनाउनका लागि चाहिने राष्ट्रिय सभाको बैठक पनि नबोलाउने?’
उनले कहिले प्रश्न छल्न हठात् बैठक स्थगित गर्ने गरेको र कहिले पार्टीभित्रको विरोधीलाई तह लगाउन प्रतिनिधि सभा विघटन गरेको आरोप लगाए। ‘जनताले यसको हिसाबकिताब गर्नेछन्, यो संसद् र सांसदको अपमान यो लोगो लगाउने, केहीको अपमान तिरस्कार र उपेक्षा होइन’, थापाले भने, ‘यो ती जनताको अपमान हो, जसले संसद् बनाए, जसले सांसद बनाएको छ हामीलाई। यसको बदला जनताले लिनेछन्।’
एमाले सांसद झपट रावलले अब प्रतिनिधि सभाले अकालमै मृत्युवरण गर्न नहुने बताए। राजनीतिक आकाशमा कालो बादल मडारिइरहेको भन्दै उनले संविधानको रक्षा र प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न, पुनर्जीवित गर्न प्रेरणा र हौसला प्रदान गर्नुपर्ने बताए।
रावलले पुस ५ देखि फागुन ११ गतेसम्म सदनले शून्य समयको रुपमा बिताएको बताए। निर्वाचित प्रतिनिधि सभाले कुनै कामकारबाही गर्न नपाएको, सदनले पारित गर्नुपर्ने नागरिकता विधेयकलगायतका महत्त्वपूर्ण कानुनहरू पारित हुन नसकेको भन्दै उनले अब पारित गर्नुपर्ने धारणा राखे।
माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले ‘श्री ५ को सरकारले घाँटी निमोठेर’ प्रतिनिधि सभा हत्या गरेको टिप्पणी गरे। अनि, अहिले अल्पविकसितबाट विकसितको प्रमाण कसरी पायो भन्दै प्रश्न उठाए।
नैतिकतामा दुई सांसदको जुहारी
प्रतिनिधि सभा विघटनको मुद्दालाई लिएर माओवादी केन्द्र र एमालेका दुई सांसदले नैतिकता कसको हुने भनि एक अर्कालाई कटाक्ष गरे। एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षीय सांसद खगराज अधिकारीले नैतिकताको प्रश्न अरुलाई हुने भनेपछि माओवादी केन्द्रकी सांसद चाँदतारा कुमारीले त्यसको प्रतिवाद गरिन्।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको पक्षमा उभिएका अधिकारीले उल्टै नैतिकताको पाठ पढाएको भन्दै चाँदताराले जवाफ फर्काइन्। ‘प्रतिनिधि सभा विघटन निन्दनीय कार्य थियो। प्रतिनिधि सभा विघटन गर्ने पक्षकै सांसद पुनःस्थापित प्रतिनिधि सभामा आएर नैतिकताको पाठ सिकाउनु अझै निन्दनीय कार्य हो’, उनले भनिन्।
अधिकारीले उनीअघि बोल्दै प्रधानमन्त्रीमाथि उठाइएको नैतिकताको प्रश्नप्रति खण्डन गरेका थिए। ‘नैतिकता त गजबको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिन डराउने। प्रधानमन्त्रीलाई नैतिकता सिकाउने?’, अधिकारीले ओलीको बचाउ गर्दै भने, ‘अविश्वासको प्रस्ताव ल्याउँछौं भनेर, फेल हुन्छ भनेर डराउने। अनि, प्रधानमन्त्रीलाई नैतिकता सिकाउने? ठाउँठाउँमा गएर नेकपाको मलामी जाने कोही भएनन् भन्ने?’
यस्तै, माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले गैरकानुनी रुपमा भएको विघटन बदर गर्ने सर्वोच्चको कदमले संविधान बचाएको बताइन्। सांसद अमनलाल मोदीले रअका प्रमुख भेटेर प्रधानमन्त्रीले संसद् विघटन गरेको आरोप लगाए। यसरी गैरकानुनी रुपमा विघटन गरेको प्रतिनिधि सभा सबै नागरिकको बल र अदालतको फैसलाले पुनःस्थापना गरेकोमा सरकारले विजनेश नदिएर गतिहीन बनाएको मोदीले आरोप लगाए।
शून्य समयमा विविध विषयमा ध्यानाकर्षण
प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए।
बैठक प्रारम्भ हुनासाथ सभामुखसँग समय मागेर बोल्दै सांसद दिलेन्द्रप्रसाद बडुले दार्चुला जिल्लाको महाकाली नगरपालिका-५ गल्फाइँ गाउँको पारिपट्टी भारतले तीन महिनादेखि नेपालको सहमति र जानकारीबिना नै एकतर्फी ढंगले नेपाली भूमि मिचेर तटबन्ध निर्माण गरीरहेकाले तटबन्ध निर्माण कार्य तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराए।
सांसद अन्जना विशंखेले कोभिड-१९ ले नयाँ रुपमा जन्म लिएको भन्दै स्वास्थ्य मन्त्रालयले कर्मचारीको व्यवस्थापन र जनताको विषयलाई गम्भिरतापूर्वक लिनुपर्नेमा ध्यानाकर्षण गराइन्। सांसद अमनलाल मोदीले कोभिड-१९ को महामारीपछि सरकारले देश–विदेशमा रोजगारी गुमाएका मजदुरहरूलाई रोजगारी दिन नसकेको बताए। उनले मलको अभाव भएको पनि बताए।
सांसद आशाकुमारी विकले बझाङको दुर्गम साइपाल गाउँपालिकाका जनप्रतिनिधि प्रत्येक वर्ष चामल माग्न सिंहदरबार धाइरहेका भएपनि समस्या समाधान नभएको बताइन्। त्यहाँको खाद्य समस्या समाधानका लागि स्थायी खाद्य डिपो सञ्चालन गर्नु जरुरी रहेको उनको भनाइ छ।
सांसद इन्दुकुमारी शर्माले महोत्तरीमा फागुन १० गते ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी गीतादेवी झाको आफ्नै निवासमा सुतिरहेको अवस्थामा विछ्यौनासहित रहस्यमय तरिकाले अपहरण गरी बेपत्ता पारिएको घटनाको दोषी पत्ता लगाउन प्रहरी प्रशासनले हालसम्म नसकेको भन्दै तत्काल दोषी पत्ता लगाइ कानुनी कारबाही गर्न माग गरिन्।
सांसद उमा रेग्मीले महिलाहरूको हत्या, हिंसा र बलात्कारका घटनाको बिगबिगी रहेको भएपनि यो विषय सरकारको प्राथमिकतामा किन नपरेको भनि प्रश्न गरिन्। यस विषयमा सरकार गम्भीर नबनेको उनको टिप्पणी छ। हत्या, हिंसा तथा बलात्कारमा संलग्नहरूलाई कडा भन्दा कडा कारबाही गर्न उनले माग गरिन्।
सांसद एकवाल मियाँले बारा जिल्लाबाट वीरगंजसम्म पुग्ने हाइटेन्सन लाइनको बीचमा २५/३० वटा गाउँ परेकाले जनताहरू त्रासमा रहेको बताए। उनले हाइटेन्सन लाइनको व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए।
सांसद कुमारी तुलसी थापाले बर्दियामा आरक्षणमा हुर्किरहेका पाटे बाघले आतंक मच्चाएका र हालसम्म ९ जनाको ज्यान गइसकेको अवस्थामा सरकारले जनताको सुरक्षा गर्न कुनै उपाय नअपनाएको आरोप लगाइन्। उनले बर्दियाको नेपाल-भारत सिमानामा व्यापक तस्करी भइरहेको र नेपाल-भारत सिमानामा नेपाली भूमि अतिक्रमण भइरहेको भएपनि सरकारको ध्यान जान नसकेको टिप्पणी गरिन्।
सांसद कृष्णभक्त पोखरेलले सरकारले दुर्लभ वन्यजनतु एकसिंगे गैँडाको गणना सुरु गरेकोमा धन्यवाद दिए। उनले एकसिंगे गैँडाको संरक्षणका लागि रणनीतिक योजना बनाइ सरकारले कार्यान्वयनमा ल्याओस् भन्ने सुझाव दिए।
सांसद केदार सिग्देलले छिमेकी देश भारतमा फेरि कोरोनाको दोस्रो चरणको महामारी सुरु भएको भन्दै नेपालमा यसको प्रभावकारी रोकथाम र उपचारका लागि यथाशीघ्र कदम चाल्न स्वास्थ्य मन्त्रालय र सम्बद्ध पक्षसँग माग गरे।
सांसद खेमप्रसाद लोहनीले मध्यपहाडी लोकमार्ग अन्तर्गत धादिङ जिल्लामा पर्ने सडक निर्माण कार्य रोकिएकाले तत्काल सुरु गर्न अनुरोध गरे।
सांसद घनश्याम खतिवडाले सरकारले अगाडि सारेका कामहरू ठेकेदारको लापरबाहीका कारण सम्पन्न हुन नसकेकोतर्फ ध्यानाकर्षण गराए। मोरङमा पनि विकास निर्माणको काममा ठेक्का लागेको भएपनि ठेकेदारको लापरबाहीका कारण काम नभएको उनको भनाइ थियो।
सांसद जिपछिरिङ लामाले भारतले अतिक्रमण गरेको दार्चुलाको जमिन कहिले फिर्ता आउँछ भनेर प्रश्न गरे। ‘जग्गा अर्को देशमा, हामी चाहिँ लोगो मात्रै लगाएर हिँड्ने? जमिन कहिले फिर्ता आउँछ?’, उनले भने।
सांसद जीवनराम श्रेष्ठले काठमाडौं जिल्लामा सडक विस्तारको नाममा डोजर आतंक भएकाले तत्काल रोक्न माग गरे। सडक विकासका आयोजनालाई ‘रिभ्यू’ गर्नुपर्ने उनको माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।