काठमाडौं- चासोका साथ हेरिएको नेकपा एमालेका दुई पक्षको छलफल बिनानिष्कर्ष टुंगिएको छ।
सोमबार बिहान साढे ११ बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा चलेको छलफलमा केपी शर्मा ओली र माधवकुमार नेपालका साथमा उनीहरु निकट नेताहरुको सहभागिता रहेको थियो।
छलफलमा ओलीले फागुन २८ गते बालुवाटारमा आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरुको भेला गरी गरेको भनिएको निर्णय खारेज गर्नुपर्ने अडान नेपाल पक्षले राखेको थियो। उक्ता भेलाबाट ओलीले नेताहरुको जिम्मेवारी हेरफेर गर्ने, केन्द्रीय कमिटी सदस्य थप्नेदेखि विधान संशोधन गर्नेसम्मका निर्णय गरेका थिए।
माधव नेपाल पक्षको प्रस्तावलाई ओली र उनी पक्षले त्यसलाई स्वीकार नगरेको छलफलमा सहभागी भीम रावलले बताए। छलफलमा सर्वोच्च अदालतले एमाले ब्युँताइदिएका कारण माओवादी केन्द्रसँग एकता गर्नुअघिकै संरचनाअनुसार अघि बढ्नुपर्ने नेपाल पक्षको प्रस्ताव थियो।
नेकपा माधव पक्षका सुरेन्द्र पाण्डेले त्यही बिन्दुमा पुगेर अघि बढ्नुपर्ने प्रस्ताव आफ्नाे रहेकाे बताए। तर, ओलीले 'इफ' र 'बट' भन्दै केही निर्णयमा 'कम्प्रमाइज' खाेजेकाे उनकाे भनाइ छ।
नेपाल पक्षकाे प्रस्तावमा ओलीले भने समय अघि बढिसकेको जवाफ फर्काएका थिए। छलफललाई निरन्तरता दिने भनिए पनि अर्को छलफल कहिले र कसरी हुने निश्चित नभएको नेताहरुको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।