काठमाडाैं- नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बैठक माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेर अघि सुरु भएको केन्द्रीय सदस्य हेमराज भण्डारीले बताए।
आइतबारदेखि पेरिसडाँडामा जारी बैठक आज पनि निरन्तर रहेको हो। आइतबारदेखि सुरु भएको बैठकमा सातै प्रदेशका इन्चार्ज र अध्यक्षहरूले संगठनको अवस्थाबारे केन्द्रलाई रिर्पोटिङ गरेका थिए।
बैठकमा माओवादी केन्द्रको नाम फेर्नेदेखि एमालेमा रहने निर्णय गरेका नेताहरुलाई अनुशासनको कारबाही गर्नेसहितका अजेन्डा पेस भएका थिए।
रिर्पोटिङका क्रममा अहिले तल्लो तहमा माओवादी कमजोर भएकाले अझै ध्रुवीकरण गरेर जानुपर्ने विषय उठेको छ। विगतमा नेकपाको नाममा संगठन अघि बढेकाले अहिले कमजोर हुनु स्वभाविक भएको भन्दै सबैलाई जोडेर जान छलफल गर्नुपर्ने सुझाव दिइएको छ।
आइतबारको केन्द्रीय कमिटी बैठकमा ६ वटा अजेण्डा पेस भएका थिए। जसमध्ये पहिलो- श्रदाञ्जली दिने, दोस्रो- केन्द्रीय कार्यालयको तर्फबाट सम्बोधन, तेस्रो- प्रदेश कमिटीका प्रतिनिधिबाट छलफल, सुझाव र टिप्पणी, चौथो- संगठनात्मक कामका विषयमा, पाँचौं- कार्यकर्ता भेला र छैटौं विविधमा पार्टीको नाम परिवर्तन, एकता र रामवृक्ष यादवको सालिकलगायत थिए।
आजको बैठकमा छलफलमा उठेका विषयमाथि सम्बन्धित नेताले जवाफ दिने बताइएको छ। यथाशक्य छिटो निष्कर्ष निकाली बैठक आजै सक्ने तयारी गरिएको नेताहरूले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।