काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। दिउँसो २ बजेका लागि बैठक बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ।
गत फागुन २३ गते पुन:स्थापित प्रतिनिधिसभाको पहलो बैठक बसेको थियो। त्यसपछि फागुन २६ गते दोस्रो बैठक बसेको थियो। तर, कार्यव्यवस्था परामर्श समितिको बैठक भने बस्न सकेको थिएन। सत्तारूढ दलभित्रको किचलोको असर संसद्मा परेको छ।
यसअघिका दुवै बैठक औपचारिकतामा सीमित भएका थिए। कार्यव्यवस्था परामर्श समितिको बैठक नबस्दा अध्यादेश टेबुल गर्नेदेखि दलका नेताले सम्बोधन गर्ने कार्यक्रमसम्ममा जटिलता निम्तिएको छ।
प्रतिनिधिसभा नियमावलीको नियम १३ मा कार्यव्यवस्था परामर्श समितिको बैठकबारे व्यवस्था गरिएको छ। नियम १३ (१) मा 'बैठकमा पेश हुने विषयको प्राथमिकता तथा समयावधिको निर्धारण लगायत बैठकलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्ने सम्बन्धमा र सभामुखले आवश्यक ठहऱ्याएको अन्य विषयमा परामर्श दिन सभामुखको अध्यक्षतामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलीय प्रतिनिधित्वको आधारमा बढीमा सत्र जना सदस्य रहेको एक कार्यव्यवस्था परामर्श समिति गठन गर्न सकिनेछ' भन्ने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।