काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता संकटमा परेसँगै नेपली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच नयाँ सरकार गठनका लागि गृहकार्य अघि बढाइएको छ।
कांग्रेसका एक उच्च तहका नेताका अनुसार तीन दलीय गठबन्धन बनाउने गरी आन्तरिक छलफल अघि बढेको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ सरकार सन्दर्भमा छलफल गर्न मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका थिए। वार्तामा देउवालाई प्रधानमन्त्री स्वीकारेर नयाँ सरकार बनाउन प्रचण्ड तयार रहेको बताइएको छ।
माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। ओली पक्षलाई सहयोग गरी सरकारमा जान कांग्रेस इच्छुक देखिएको छैन। साथै, जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईसहितका नेता ओलीलाई समर्थन गर्ने पक्षमा छैनन्।
ओलीसँग तीव्र असन्तुष्ट रहेका दलले उनको बहिगर्मनका लागि गठबन्धन बनाउने प्रयास गरेका हुन्। कांग्रेसका एक नेताले भने, ‘कांग्रेस-माओवादी केन्द्र र जसपाको सरकार बन्ने प्रबल सम्भावना छ। तीन दलबीच सरकार बनाउने गरी आन्तरिक छलफल भइरहेको छ।’ नयाँ सरकार निर्माणका सन्दर्भमा अनौपचारिक छलफल भइरहेको उनले बताए।
सरकार बनाउन संसदमा बहुमतका लागि १३८ सांसद पुग्नुपर्दछ। तीन दलको गठबन्धनले बहुमत संख्या पुग्दछ। कांग्रेसका ६३, माओवादी केन्द्रका ५३ र जनता समाजवादीका ३४ सांसद छन्। कांग्रेस र जसपाका २/२ सांसद निलम्बनमा छन्।
माओवादी केन्द्रका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, गौरीशंकर चौधरी वर्तमान सरकारमा छन्। उनीहरु पुरानो पार्टीमा नफर्के माओवादीसँग ४९ सांसद पुग्छन्। तीन दलको कुल सांसद संख्या १४२ जना पुग्दछ। उक्त संख्याले तीन दलीय सरकार बनाउन सहज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।