काठमाडाैं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर सहकार्यको प्रस्ताव राखेका छन्।
मंगलबार अपराह्न देउवा निवास बूढानीलकण्ठ पुगेका प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हटाउनेदेखि नयाँ सरकार गठनसम्मका लागि सहकार्यको प्रस्ताव राखेका हुन्।
‘उहाँले अब सहकार्य गरेर अगाडि बढौं भन्ने प्रस्ताव गर्नुभो’, देउवानिकट नेपाली कांग्रेसका एक नेताले नेपाल लाइभसँग भने, ‘सभापतिजीले चाहिँ म पहिले यसबारे साथीहरुसँग सल्लाह गर्छु भन्नुभएको छ।’
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई वैधता नदिएसँगै एकीकरणबाट नेकपामा गाभिएका तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँतिएका छन्। माओवादी केन्द्र ब्युँतिएसँगै अध्यक्ष प्रचण्डले मंगलबार स्थायी समितिको बैठक बोलाएका थिए। पेरिसडाँडास्थित कार्यालयमा स्थायी समितिको बैठक सकिएलगत्तै प्रचण्ड देउवानिवास पुगेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सत्ता सहकार्यका लागि जनता समाजवादी पार्टी (जसपा)लाई प्रस्ताव गरेका छन्। जसपाको मंगलबार सम्पन्न संसदीय दलको बैठकले भने तत्काल सत्ता सहकार्यमा नजाने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।