कैलाली- कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा आजदेखि थरुहट/थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय सम्मेलन सुरु भएकाे छ। सद्भाव, न्याय र अधिकारका लागि भन्दै थरुहटले युवा दस्तासहित सम्मेलन सुरु गरेका हुन्।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा पूर्व मेचीदेखि पश्चिम महाकालीका थारु समुदायका व्यक्ति, पहिचानवादी राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिसहित ५० हजारको सहभागिता रहने जनाइएको छ।
आज मध्याह्न १२ बजे एक कार्यक्रमकाबीच सम्मेलनको उद्घाटन गरिने मोर्चाका प्रवक्ता मिनराज थारुले जानकारी दिए।
उनका अनुसार सम्मेलन उद्घाटनको क्रममा थरुहट युवा दस्ताको मार्च पाससमेत हुनेछ। सम्मेलन उद्घाटनपछि बन्दसत्र सुरु हुने र घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न हुने आयोजकले जानकारी दिएको छ।
टीकापुर घटनाको मुद्दामा उच्च अदालत दिपायलले गरेको फैसला, संविधानप्रति थारु समुदायको असन्तुष्टि, राज्य पुनःसंरचना गर्दा गरिएको सिमांकन र नामांकनप्रति रहँदै आएको विमति लगायतका सवालमा सम्मेलनमा गहन ढंगले छलफल गरिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।