काठमाडौं- कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विरोध गर्नेहरू देशविरोधी हुन् भनेर दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक रहेको बताएको छ।
'फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हर कोहीको नैसर्गिक अधिकार हो', कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, 'प्रधानमन्त्रीको यो अभिव्यक्ति अलोकतान्त्रिक त छ नै, यसले उहाँमा रहेको अधिनायक आकांक्षालाई थप उजागर गरेको छ।'
कुनै पनि रंग र स्वरुपको अधिनायकवाद विरुद्ध संघर्षमा उभिनु चैं देशभक्तहरुको जिम्मेवारी, कर्तव्य र पहिचान हो भन्नेमा नेपाली कांग्रेस प्रष्ट रहेको विज्ञप्तिमा बताइएको छ।
'सर्वोच्च अदालतमा भई रहेको बहसलाई ‘तमासा’ को संज्ञा अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न हो। सम्मानित र पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान हो। आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नु, प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति हो भने पूर्व प्रधानन्यायाधीशहरुलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रता विरुद्धको बर्बराहट हो', विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्रीका पछिल्ला कैयौं अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउँदै लगेको कांग्रेसको ठहर छ। आफ्नो कदम विरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने कर्म मार्फत प्रधानमन्त्रीले तिनको भन्दा बढी आफ्नै मर्यादित जिम्मेवारीको अमर्यादित ढंगले अपमान गरिरहेको विज्ञप्तिमा बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।