काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाबाट दुईचार कुलांगार भष्मासुरले पार्टी छाड्दैमा आफूहरूलाई फरक नपर्ने बताएका छन्। दाङमा पुल उद्घाटनका लागि पुगेका प्रधानमन्त्री ओलीले दुईचार कुलाङ्गार भष्मासुरले पार्टी छाड्दैमा केही नहुने बताएका हुन्।
‘दुईचार कुलांङ्गार भष्मासुरले पार्टी छाड्दैमा केही हुँदैन’ प्रधानमन्त्री ओलीले भने‚ ‘स्थायित्व भंग गर्ने अस्थिरता मच्चाउनेहरूले लोकतन्त्र र स्थायित्वको कुरा गर्ने? काम गर्न नदिनेलाई जनताले दण्डित गरून् भनेरै निर्वाचन घोषणा गरेको हो। जनताले दण्डित गर्छन्।’
पार्टी छाडेर गएका केही मानिसहरूले बाहिर चौतारमा बसेर आफू अध्यक्ष भएको जीकिर गरेको भन्दै प्रधानमन्त्री ओलीले त्यस्ताको पछि नलाग्न आग्रह गरेका छन्।
‘पार्टीको आधिकारिक बैठक नबसी बैंक्वेटमा गएर बैठक बस्छन्। उनीहरू केपी ओली यो पृथ्वीमै नरहे हुन्थ्यो भन्ने चाहन्छन्। पिलो निचोरिँदैमा वजन घट्दैन। २/४ कुलंङ्गार भष्मासुरले पार्टी छाड्दैमा केही हुँदैन‚’ प्रधानमन्त्री ओलीले भने।
‘शाकाहारी आन्दोलनले हुँदैन पनि भन्ने अनि हामीले हिंसा खोजेका छैनौँ भन्ने? के खोजेको हो त?’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।