दाङ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विकासको लहर चलेको बताएका छन्। दाङमा पुल उद्घाटनका लागि पुगेका प्रधानमन्त्री ओलीले विकासको लहरलाई कोभिड-१९ ले पनि रोक्न नसकेको बताए।
‘देशमा विकासको लहर चलेको छ। कोभिड-१९ ले पनि हामीलाई विकास निर्माणका काममा लगातार अगाडि बढ्नबाट रोक्न सकेन। केही-केही प्रतिकुलताहरु थप्यो। तर पनि हामीले ती प्रतिकुलताहरुलाई चिरेर फेरि अनुकुलतामा बदल्दै अगाडि बढ्यौं’, उनले भने।
ओलीले विकासको लहर चलेको र कोभिडले पनि रोक्न नसकेको उदाहरण राप्ती पुल नै भएको पनि बताए। प्रधानमन्त्री ओलीले सोमबार दाङकाे सिसहनिया- गढवा जाेड्ने ८६५.४० मिटर लामाे पुलकाे उद्घाटन गरेका हुन्। याे नेपालकै दाेस्राे लामाे पुल हाे।
विकास निर्माणको कामसँगै देश तीव्र गतिमा अगाडि बढिरहेकोमा जोड दिँदै प्रधानमन्त्री ओलीले देश अगाडि बढ्नबाट कसैले पनि रोक्न नसक्ने दाबी गरे।
‘कोभिडको समयमा पनि काम हुन्छ भन्ने दृष्टान्त यस पुलको यही अवधिमा निर्माण हुनु पनि हो’, उनले भने, ‘देश अगाडि बढ्छ। देश अगाडि बढ्नबाट कसैले रोक्न सक्दैन।’
प्रधानमन्त्री ओलीले विकसित राजनीतिक विषयमा पनि आफ्नो धारणा राखे। उनले संविधान, प्रणाली र व्यवस्थाको रक्षाका लागि आफू लागिरहेको दाबी गरे।
‘हामी संविधानको रक्षा गर्छौं। यस प्रणालीको रक्षा गर्छौं। व्यवस्थाको रक्षा गर्छौं। यस प्रक्रियालाई सुरक्षित ढंगले सफलतापूर्वक अगाडि बढाउँछौं। यो प्रक्रिया यो प्रणालीलाई अगाडि बढाउनुको उद्देश्य देशमा सुशासन र विकास ल्याउने हो। सुशासन र विकासलाई हामी प्रत्याभूत गर्दै हामी अगाडि बढाउनेछौं’, उनले भने।
कार्यक्रममा प्रधानमन्त्री ओलीले माघ १४ गतेबाट फ्रन्टलाइमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई कोभिड खोप लगाउने कार्य सुरु हुने जानकारी पनि दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।