काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि भएको सुनुवाइ सोमबारका लागि 'हेर्दाहेर्दै'मा राखिएको छ। संवैधानिक इजलासमा भएको बहस पूरा नभएपछि सोमबारका लागि 'हेर्दाहेर्दै'मा राखिएको हो।
आइतबारको बहसमा सहभागी हुँदै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू मेघराज पोखरेल, दीपक राई, केदार कार्कीलगायतले बहस गरेका थिए।
निवेदकका तर्फवाट बहस गर्ने वरिष्ठ अधिवक्ता एवं अधिवक्ताहरुले संविधानले दिएको अधिकारभन्दा बाहिर गएर प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको दावी पेस गरे।
हालसम्म दुई दर्जनभन्दा धेरै कानुन व्यवसायीहरुले यो मुद्दामा बहस गरिसकेका छन्। करिब २५० जना अधिवक्ताहरुले बहसका लागि निवेदन दिएका छन्। त्यसैगरी सर्वोच्च बार र नेपाल बार एशोसियसनबाट मगाइएका पाँच जना एमिकस क्युरी र महान्यायाधिवक्ता अग्नि खरेलले पनि यो मुद्दामा बहस गर्नेछन्।
गत आइतबारदेखि मूल विषयमा प्रवेश गरेको इजलासमा रिट निवेदकका तर्फबाट बहस भइरहेको छ।
प्रतिनिधि सभा विघटनविरुद्ध १३ रिट दर्ता भएका थिए।
बहसमा बोल्ने वकिलहरुले समय बढी लिएपछि बढीमा आधा घण्टाको समय गत बुधबारबाट निर्धारण गरिएको थियो। तर वकिलहरुले निर्धारित समयसीमा पालना गरेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।