काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अपहेलनामा कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन पेश भएको छ। वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले प्रधानमन्त्री ओलीलाई कारबाहीको माग गर्दै निवेदन पेश गरेका हुन्।
निवेदन सर्वाेच्च प्रशासनको अध्ययनका क्रममा रहेकाले दर्ताको प्रक्रियामा रहेको छ। सोमबार मात्रै दर्ता गर्ने वा नगर्ने निर्णय हुनेछ।
निवेदनमा नपुगेका विवरणहरू माग गरेर निर्णय हुने सर्वाेच्च प्रशासनले जनाएको छ।
'प्रधानमन्त्रीको पदमा आसीन खड्ग प्रसाद शर्मा ओलीले प्रयोग गरेका शब्द, लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अपहेलना भएकाले उहाँलाई अपहेलनामा कारबाही गरी सजायसमेत गरी पाउन सादर अनुरोध गर्दछु,' सर्वोच्चमा दायर भएको रिटमा उल्लेख छ।
केही दिनअघि प्रधानमन्त्री ओलीले संवैधानिक इजलासमा भएको बहसलाई 'तमासा'को संज्ञा दिएका थिए। यस्तै उनले आफ्नो पक्षमा फैसला आउने र प्रतिनिधि सभा विघटनलाई अदालतले पनि सदर गर्ने दाबी सार्वजनिक रूपमा नै व्यक्त गर्दै आएका छन्।
अदालतमा विचाराधीन मुद्दामा प्रभाव पर्ने गरी अभिव्यक्ति दिन नपाइने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।