काठमाडौं- प्रतिनिधिसभा विघटनपछि नयाँ निर्वाचनको तयारी अगाडि बढाइरहेको निर्वचान आयोगले सबै प्रदेश तथा स्थानीय तहमा एक/एक जना सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको छ।
आयोगले ऐन, नियम तथा निर्देशिकालगायतमा भएको व्यवस्थाअनुसारको कार्यसम्पादन गर्ने क्रममा स्थानीय स्तरमा मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने, निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम, निर्वाचनसँग सम्बन्धित विभिन्न सूचना तथा सन्देशको सम्प्रेषण गर्नेलगायतका कार्य सञ्चालनका लागि सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको हो।
आयोगले निर्वाचनसम्बन्धी विषयमा आवश्यक समन्वय गर्न प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहसचिव वा सोसरहका एक जना कर्मचारीलाई निर्वाचन सम्पर्क व्यक्ति तोकी आयोगमा जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अनुरोध गरेको छ।
यस्तै स्थानीय तहमा शिक्षा वा सामाजिक विषयसँग सम्बन्धित शाखाको प्रमुखलाई निर्वाचन सम्पर्क व्यक्ति तोकी आयोगमा जानकारी गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिअनुसार आयोगले सबै प्रदेश र स्थानीय तहमा रहने सम्पर्क व्यक्तिको कार्यविवरण समेत स्वीकृत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।