काठमाडौं- विवेकशील साझा पार्टीका तर्फबाट बागमती प्रदेश सभाका सदस्य रहेका रमेश पौडेलले प्रधानमन्त्रीले संविधानमाथि ठाडो प्रहार गरेको बताएका छन्। बुधबार सुरु भएको प्रदेश सभाको सातौं अधिवेशनमा शुभकामना सन्देश व्यक्त गर्दै पौडेलले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको आलोचना गरे।
'२०७७ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने गरी चालेको कदमले संविधानमाथि ठाडो आक्रमण भएको छ। र मुलुक अहिले गम्भीर राजनीतिक संकटमा परेको छ। प्रधानमन्त्री यो कदम २०६२/६३ को जनआन्दोलनद्वारा नेपाली जनताले हासिल गरेका राजनीतिक उपलब्धिहरु उल्ट्याउने तर्फ अग्रसर छ,' पौडेलले भने।
उनले अहिलेको संविधानले धारा ७६ को उपधारा १ वा २ बमोजिम नियुक्त प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको बताए। 'संविधानको धाराले नदिएको अधिकार अहिले प्रधानमन्त्रीले जबर्जस्तीको धारा मार्फत प्रयोग गरिराख्नुभएको छ। राष्ट्रपतिले प्रधानमन्त्रीको असंवैधानिक कदमलाई सघाउँदै आउनुभएको छ,' उनले भने।
पौडेलले प्रधानमन्त्रीको असंवैधानिक कदम समयमै सच्चिएन भने नेपाल डरलाग्दो अनिश्चिय, अस्थिरता हुँदै अध्याँरो सुरुङतर्फ जाने देखिएको बताए। 'प्रधानमन्त्रीको यो कदमले मान्यता पाउने हो भने भोलि आउने हरेक प्रधानमन्त्रीले आफ्नो सनक र लहडको भरमा संसद् विघटन गर्दै जाने परिपाटी स्थापित हुने छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।