काठमाडौं- नेकपाका दुई समूहभित्रै द्वन्द्व भएकाले निकास पनि नेकपाले खोज्नुपर्ने प्रमुख प्रतिपक्ष कांग्रेसको जोड छ। बागमती प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि कांग्रेसले यस्तो धारणा व्यक्त गरेको हो।
मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेश सभाको बैठक बुधबारबाट सुरु भएको छ। प्रदेश सभाको पहिलो बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले भने, ‘हामीलाई सरकारमा जान हतार छैन। तपाईंहरू नै मिल्नुस्।’
अविश्वासको प्रस्तावलाई छिटो निकास दिनेगरी प्रदेश सभाको प्रक्रियामा लान उनले सभामुखलाई आग्रह गरे। नेकपाले जनताको मतको अवहेलना गरेको उनले आरोप लगाए। नेकपा अझै नफुटेको जनाउँदै बानियाँले स्थिरताको मत मागेर अस्थिरता दिएको उनले टिप्पणी गरे।
संविधानले प्रतिनिधि सभा विघटनको परिकल्पना नगरेको तथ्य बानियँले प्रष्ट्याए। उनले भने, ‘संविधान सभाको सदस्य म पनि थिएँ। संविधानमा प्रतिनिधि सभा विघटन गर्ने प्रावधान छैन। अलोकतान्त्रिक कार्य प्रधानमन्त्रीबाट भएको छ।’
जुनसुकै मूल्य चुकाएर पनि कांग्रेस संघीयता टिकाउन कटिबद्ध रहेको उनले सदनमा प्रतिबद्धता जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।