काठमाडाैं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको गैरसंवैधानिक कदमपछि आफूहरुले पनि अलि आवेगमा आएर टिप्पणी गरेको स्वीकार गरेका छन्।
बुधबार सम्पादकहरूसँगको छलफलमा उनले आफू र अर्का अध्यक्ष माधवकुमार नेपालमा केही आवेगात्मक प्रस्तुति देखिएको स्वीकार गरे।
सम्पादकहरुले ‘दुर्वाच्यको प्रयोगमा तपाईंहरु पनि कम देखिनु भएन नि?’ भनेर सोधेको प्रश्नमा उनले भने, ‘हो, देशलाई दुर्घटनातिर लैजान लागेको देखेर म र माधवजीमा केही आवेग देखिएको हो। देशलाई यति छिटै यति ठूलो दुर्घटनातर्फ लगियो भनेर सोच्दा अलि बढी आवेग, अलि बढी चिन्ता हुँदोरहेछ।’
प्रचण्डले आफूले ‘शाकाहारी आन्दोलनले पार नलाग्ने’ भनेर दिएको अभिव्यक्तिमा कमजोरी भएको स्वीकार गरे। ‘मैले शाकाहारी आन्दोलनले हुन्न पनि भनें, तर त्यो भनेको हिंसात्मक भनेको होइन, यसलाई त्यहीरुपमा बुझिदिन मेरो अनुरोध छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।