काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने धनगढीको सभामा ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखेको टिसर्ट लगाउने युवालाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार धनगढीमा भएको कार्यक्रममा केही युवाले आफ्नो टिसर्टमा निर्मला पन्तको बलात्कार र न्यायको खोजीसँग सम्बन्धित नाराहरु लेखिएको टिसर्ट लगाएर सहभागी भएका थिए।
ती युवालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
२०७५ साउनमा महेन्द्रनगर उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। उनको बलात्कारी र हत्याराको खोजी भएको भए पनि हालसम्म पत्ता लाग्न सकेको छैन।
२०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो। बलात्कार र हत्या प्रकरणको अनुसन्धान हालसम्म चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।