काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पनि सहभागी भएका छन्। बैठक बस्नुअघि २ अध्यक्षले बालुवाटारमा भेटेर एक्लाएक्लै छलफल गरेपछि प्रधानमन्त्री ओली पनि सचिवालय कमिटी बैठकमा सहभागी भएका हुन्।
ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कात्तिक २५ यता भएको यो पहिलो ‘वान टु वान’ भेट हो। बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली उपस्थित नभएपछि बैठक आज शनिबारका लागि तय भएको थियो।
पार्टीमा देखा परेको संकट र विद्यमान समस्याको समाधानका लागि ओलीको समेत उपस्थितिमा छलफल गर्नु आवश्यक उपयुक्त र उचित भएको निष्कर्ष निकाल्दै बुधबारको बैठक स्थगित गरिएको थियो।
बुधबारको सचिवालय बैठकले १८ गतेका लागि तोकिएको स्थायी कमिटी बैठक पनि २१ गते १ बजेदेखि प्रारम्भ हुने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।