काठमाडौं- नेकपा सचिवालय बैठक मंसिर २० गते सम्मका लागि स्थगित भएको छ। अध्यक्ष एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार, सचिवालयको अर्को बैठक मंसिर २० गते १ बजे बस्ने छ।
बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक एक घण्टा पछि सारिएको थियो। तर बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका थिएनन्। उनले मंगलबार नै बैठकमा आफू उपस्थित नहुने बताएका थिए।
आजको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै समयमा पेश गरेको प्रस्तावमाथि छलफल हुने कार्यक्रम थियो। मंगलबारको बैठकमा छलफल प्रारम्भ भएको थियो।
ओलीले प्रचण्डले कात्तिक २८ गतेको बैठकमा पेश गरेको प्रस्तावलाई 'आरोप पत्र' भन्दै फिर्ता हुनुपर्ने र प्रचण्डले माफी माग्नुपर्ने बताएका छन्। तर सचिवालयका बहुमत सदस्यहरुले भने प्रस्ताव पेश भइसकेपछि छलफल हुनुपर्ने बताएका छन्। मंगलबारको सचिवालय बैठकमा प्रचण्डले पनि प्रस्तावबारे निर्णय गर्ने अधिकार कमिटीलाई मात्रै भएको बताएका थिए।
नेकपाको स्थायी कमिटी बैठक मंसिर १८ गतेका लागि तोकिएको छ। त्यस्तै, केन्द्रीय कमिटी बैठक मंसिर २५ गतेलाई तोकिएको छ। ती बैठक पनि सर्ने आकलन गरिएको छ। तर आधिकारिक निर्णय भने भइसकेको छैन।
मंसिर २० गते १ बजे सचिवालय बैठक बस्ने !
Posted by Surya Thapa on Wednesday, December 2, 2020
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।