काठमाडौं- रिपोर्टिङका लागि बालुवाटार पुगेका पत्रकारहरुले प्रधानमन्त्रीको निवासभित्र नजाने घोषणा गरेका छन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकको रिपोर्टिङका लागि त्यहाँ पुगेका पत्रकारहरुलाई प्रधानमन्त्री निवासभित्र प्रवेश गर्न दिइएको थिएन।
केही अघिसम्म यस्ता बैठकको रिपोर्टिङका लागि गएका पत्रकारहरुलाई प्रधानमन्त्री निवास परिसरमा सहज पहुँच थियो। तर, सचिवालयका पछिल्ला केही बैठकका क्रममा भने प्रवेश निषेध गरिएको छ। उनीहरुलाई कोरोनादेखि सुरक्षा 'थ्रेट' भएको बहाना बनाउन थालिएको छ।
मंगलबारको बैठकको रिपोर्टिङका लागि पुगेका पत्रकारहरुले प्रधानमन्त्रीको सचिवालयका सदस्यसँग प्रवेश दिन अनुरोध गरेका थिए। पछि सुरक्षाकर्मीले नाम टिपे पनि जान भने दिएका थिएनन्।
प्रवेशमा अवरोध गर्ने, झुक्याउने जस्ता व्यवहार देखाएको भन्दै पत्रकारहरुले आजको रिपोर्टिङको लागि प्रधानमन्त्री निवासभित्र नजाने घोषणा गरेका हुन्।
उनीहरु सचिवालय बैठकको निर्णय कुर्दै सडक किरानामा बसेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।