काठमाडौं–सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्नेमा जोड दिएका छन्।
संघीय ससद र प्रदेश सभा सञ्चालन अनुभव आदानप्रदान एवं अन्तरक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्ने, जनताको जीवनस्तरलाई माथि उठाउने कार्य गर्नुपर्ने बताए।
सभामुख सापकोटाले संसदका समितिहरु बढी सक्रिय हुनुपर्नेमा जोड दिए। ‘संसद अधिवेशन नचलेको अवस्थामा पनि समितिमा हुने व्यापक छलफलले जनमुखी कानुन निर्माण हुन्छ,’ उनले भने।
उनले संघीय र प्रदेश सभामा सभामुख र उपसभामुख आन्तरिक रुपमा गहन छलफल गरेर अघि बढ्दा सभाको काम प्रभावकारी हुने बताए।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड–१९ का कारण अब संसदका गतिविधि रोक्न नहुने बताए। उनले स्वास्थ्य मापदण्ड र अनुशासनको पालना गर्दै संसदलगायत सबै गतिविधिलाई निरन्तरता दिनुपर्ने धारणा राखे।
संघीय संसदको हिउँदे अधिवेशन सञ्चालनका लागि उच्च स्वास्थ्य सतर्कता अपनाउनुपर्ने बताउँदै उनले त्यसका लागि तयारी भइरहेको जानकारी दिए। संघले बनाउनुपर्ने कानुन नबन्दा प्रदेशले र प्रदेशले बनाउनुपर्ने कानुन नबनाउँदा स्थानीय तहहरु समस्यामा परेको उनको भनाइ छ। उनले हिउँदे अधिवेशनमा बाँकी ऐन बनाउने र बनेका ऐन प्रदेश र स्थानीयस्तरमा लैजानुपर्नेमा जोड दिए।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाङफेले संघीय संसदको नियमित अधिवेशन आव्हानको तयारी भइरहेको बताउँदै संघीय संसद सचिवालयले बैठक सञ्चालनका लागि गरिरहेको तयारीप्रति खुसी व्यक्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।