काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ। गत कात्तिक २८ गतेको सचिवालयको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको १९ पृष्ठको राजनीतिक प्रस्तावको ‘काउन्टर’ अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दस्तावेज नै ल्याउने भएपछि गत मंसिर ३ गते बसेको सचिवालयको बैठक १३ गतेको लागि स्थगित भएको छ। यतिबेला ओलीले प्रचण्डको प्रस्तावको विरुद्धमा कस्तो दस्तावेज प्रस्तुत गर्लान् भन्ने प्रतीक्षाको विषय बनिरहेको छ। यसै सन्दर्भमा ओली निकट नेता ईश्वर पोखरेलले शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा मिडियाकर्मीसँग गरेको छोटो छलफललाई यहाँ प्रश्नोत्तर शैलीमा प्रस्तुत गरिएको छ।
प्रचण्डको प्रस्ताव फिर्ता लिनुपर्छ भन्ने चर्चाका बीच केपी ओलीले पनि प्रस्ताव ल्याउँछु भन्नुभएको छ। अब नेकपाको मिलनबिन्दु कहाँ छ?
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डजीको तर्फबाट प्रस्ताव भनेर जे चिजहरु प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विरुद्धमा आरोपहरु लागेका छन्। ती तथ्यहीन, आधारहीन आरोपहरु हुन्। ती अभियोगपत्रको रुपमा छन्। ती कुनै प्रस्ताव रुपमा होइन। प्रक्रियाको हिसाबले पनि प्रस्ताव भन्न मिल्दैन। पार्टी कमिटीका बैठकहरुमा नेपाल कम्युनिस्ट पार्टीमा पार्टीका अध्यक्षहरुको सहमतिमा प्रस्तावहरु आउँछन्। सहमति त परै छौडौं, सल्लाह र परामर्श पनि नभइकन आएका ती चिजहरु प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएको छ- यसलाई म अस्वीकार गर्छु र खारेज गर्छु। यसको म यथोचित ढंगले खण्डन र प्रतिवाद गर्छु। म केही समय चाहन्छु भनेर उहाँले भन्नुभएको छ।
त्यस हिसाबले हामी आशा गरौं, आउने १३ गतेको बैठकमा ती आरोपहरुको बारेमा प्रधानमन्त्रीले आफ्नो तर्फबाट ‘अफिसियल्ली’ आफ्नो दृष्टिकोणहरु राख्नुहुनेछ, भनाइहरु राख्नुहुनेछ। त्यसकारणले के हो भने यो पार्टी उठेका यी विषयहरुका बारेमा जसरी सार्वजनिक भएका छन्, त्यसमा के हो त प्रतिक्रिया भनेर आउने नै भए। त्यसमा आगामी बैठकमा ती विषयमा कुराहरु उठ्छन्।
प्रचण्डले प्रस्ताव फिर्ता लिनुपर्छ कि पर्दैन?
अब फिर्ता, यति धेरै कुराहरु आएका छन्। तपाईंहरुले छाप्नुभएको छ, हेर्नुभएको छ। ती चिजहरु कस्तो परिस्थिति हो भने जुन किसिमले ती आधारहीन आरोपहरु लागेका छन्, तीनको बारेमा छिनोफानो त हुन्छ। या त ती अभियोगहरु पुष्टि हुनुपर्छ। पुष्टि हुँदैनन् भने आरोप लगाउनेहरु सित त्यसको हिसाबकिताब त हुन्छ।
वारपारको लडाइँजस्तो देखियो नि त?
वारपारको होइन।
कस्तो खालको हिसाबकिताब?
जे आरोप लागेका छन्, कि त त्यसको पुष्टि हुनुपर्यो। दुईटा मात्रै विकल्प हुनसक्छ। पुष्टि भएन भने ती आरोप, तथ्यहीन आरोप, लगाउनेहरुमाथि स्वभाविक छ। प्रश्न त उठ्छ नि। उठ्छ कि उठ्दैन?
लगाउने त ‘हरु’ होलान् नि?
उहाँको हस्ताक्षरबाट आएको छ। ‘हरु’ छन् भने पनि पानी तस्बिर देखिएका छन्। तर प्रष्ट तस्बिर देखिएको छैन।
कार्यकारी अध्यक्षको दस्तावेज फिर्ता नभइकन बैठक अगाडि बढ्दै भन्ने यहाँहरुको…
फिर्ताको विषय भएन। त्यो त आइ नै सक्यो नि। त्यसको बारेमा हामी छलफल गर्छौं।
तपाईंहरुले चुनौती दिनुभएको छ, पुष्टि हुनुपर्छ?
त्यही त। स्वभाविक छ। ती कुराहरु त्यत्रो उठेपछि या त पुष्टि हुनुपर्यो। या त त्यसको बारेमा के हो वास्तविकता बताउनुपर्यो।
दुइटै समानान्तर भएर दस्तावेज अगाडि बढ्न सक्छ कि सक्दैन?
समानान्तर कहाँबाट आयो भनेको? कसरी समानान्तर आयो? कसैले त्यो कुरा भनेपछि त्यसको बारेमा कुराहरु उठ्ने भयो नि। कुराहरु यथार्थ के हो, जसलाई आरोप लगाइएको छ, अभियोग लगाइएको छ, उहाँले त त्यसको बारेमा बोल्नुहुने भयो नि।
तपाईंले बुँदाबुँदा जवाफ दिइने भनेर सचिवालयको बैठकमा पनि भन्नुभएको रहेछ। कसरी आउँदैछ जवाफ?
जेजे आधारहीन कुराहरु छन्, ती आधारहीन कुराहरुको बारेमा जवाफ दिइने छ भनेको हो।
तपाईंले मानमर्दनका कुरा छन्, गम्भीर आरोपका कुराहरु छन् भन्नुभयो। ती पुष्टि भइ नसकुञ्जेल बैठक अगाडि जान सक्छ कि सक्दैन?
बैठक त १३ गते गर्ने भनेकै छ। १३ गते छलफल हुन्छ। १३ गतेको कुरालाई ५ गते नै किन अतालिनुभएको?
उहाँले आरोप पुष्टि गर्न सक्नुभएन भने के हुन्छ?
मैले जति भन्दैछु। त्यति मात्रै बुझ्नुस्। ती लगाइएका आरोपहरु, ती अभियोगहरुको बारेमा प्रधानमन्त्रीले त्यसको बारेमा आफ्नो तर्फबाट अफिसियल्ली बोल्छु भन्नुभएको छ। त्यो दिन आइहाल्छ। त्यसपछि हामी छलफल गर्छौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।